काठमाडौं । नेपाल क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेटबारे गत वर्षदेखि नै नियाल्दै आएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। मोन्टी देसाईको स्थानमा दुई वर्षका लागि नियुक्त भएका ल शुक्रवार राति नेपाल आएका थिए।
पत्रकार सम्मेलनमा लले नेपालमा आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताएका छन्। आफूले टेस्ट टोलीहरूसँग काम गरेको अनुभव भए पनि क्रिकेट विकासतर्फ लाग्नुपर्ने सोच बनाएको उनले बताए। नेपालजस्तो क्रिकेटप्रति लगाव भएको देशमा काम गर्नु राम्रो अवसर भएको उनको भनाइ छ।
लका अनुसार नेपाल एसोसिएट मुलुकहरूमध्ये राम्रो टोली हो तर अझै केही पक्षमा सुधार आवश्यक छ। ती पक्षमा योगदान पुर्याउन आफू तयार रहेको उनले उल्लेख गरे।
गत वर्ष डालसमा नेपालले अमेरिकासँग खेलेका बेला उनी अमेरिकी टोलीका प्रशिक्षक थिए। त्यही बेला नेपालसँग टी-२० श्रृंखलामा ३–० ले पराजित भएपछि नेपाली टोलीमा क्षमतावान खेलाडीहरूको पहिचान आफूले गरेको उनको भनाइ छ। त्यस्तै, नेपालमा क्रिकेटप्रतिको गहिरो लगाव देखेर पनि उनी यहाँ आकर्षित भएको बताए।
नेपालको मैदान र व्यवस्थापनसँग परिचित नभएकाले केही चुनौती हुन सक्ने स्वीकार्दै लले चुनौतीको सामना गर्न तत्पर रहेको बताए। चुनौतीबीचबाटै विकास सम्भव हुने विश्वास उनले व्यक्त गरे।
लका अनुसार क्रिकेट सिकाइको अन्त्य कहिल्यै हुँदैन। सधैं सुधारतर्फ लागिरहनुपर्ने उनी बताउँछन्। अहिले ५३ खेलाडीहरूसँग चलिरहेको क्लोज क्याम्पबाट आफूले खेलाडीहरूको प्रदर्शन र मानसिकता बुझ्ने मौका पाउने उनले बताए।
नेट अभ्यासभन्दा खेलमै खेलाडीको क्षमतासहित मानसिकता पनि बुझ्न सकिने उनको बुझाइ छ। खेलाडीहरूले मैदानमा आफैं निर्णय लिन सक्ने क्षमता विकास गराउनुपर्ने उनले बताए।
लले स्पष्ट पारे, अहिले क्यानले राखेको क्याम्पको आधारमा मात्र टोली छनोट नहुनेछ। सिनियर र जुनियर दुबै स्तरका खेलाडीहरूलाई समेटेर दीर्घकालीन तयारी गर्ने उनको योजना रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology