काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताएका छन् । शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले नीति तथा कार्यक्रम निरन्तरताकै लागि आएको जस्तो देखिएको प्रतिकृया दिए । भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गरे । उनले जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नीति तथा कार्यक्रममा नसमेटिएको बताए ।
“अलि गुणात्मक महत्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उहाँहरूले निरन्तरता मै ल्याउनुभयो कि जस्तो लाग्यो । आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो ।” उनले भने, “देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो । मैले त्यसो पाइन ।”
अध्यक्ष भट्टराईले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी समेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology