काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् । सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताए । सभापति खतिवडाले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपले छलफल गर्ने प्रतिवद्धता जनाए । उनले विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने बताउँदै विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने प्रतिवद्धता जनाए ।
‘कानून निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकता कार्डले राज्य बिहीन हुने स्थिति नहोस् भन्ने हो ।’ उनले भने, ‘त्यसलाई हामी अझ वृहत छलफल गरौँ । कानूनकै कारणले तपाईंहरुलाई अफ्ठ्यारो परेको छ भने अफ्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् हाम्रो चाहना छ ।’ सभापति खतिवडाले राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology