काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक जनशक्ति नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दुई पक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताए।
मन्त्री भण्डारीका अनुसार यही समस्यालाई समाधान गर्न सरकारले श्रम सञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उनका अनुसार हरेक वर्ष झन्डै ४ लाख जनशक्ति श्रम बजारमा आउने गर्छन्, तर ती जनशक्तिको सीपस्तर रोजगारदाताको मागसँग मेल नखाँदा समस्याहरू देखिएको छ।
उनले वैदेशिक रोजगारमा जानेको लहर बढे पनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको बताए। गहना बनाउने क्षेत्रमा ८ लाख, निर्माण क्षेत्रमा २० लाख र तयारी पोसाक क्षेत्रमा समेत उत्तिकै संख्यामा विदेशी कामदार नेपालमा आइरहेका उल्लेख गर्दै, यस्ता क्षेत्रमा स्वदेशी जनशक्तिको प्रतिस्थापन गर्न सके रोजगारको समस्या समाधान हुन सक्ने बताए।
मन्त्री भण्डारीले रोजगारदाताले मान्छे नपाउने र श्रमिकले रोजगार नपाउने अवस्थालाई ‘यथार्थ’ भन्दै यसलाई जोड्न नसक्नु प्रमुख चुनौती भएको बताए। ‘रोजगारदाताले मान्छे पाएको छैन, काम गर्न खोज्ने श्रमिकले काम पाएको छैन। यो सत्य हो,’ उनले भने, ‘हामीले यी दुई पक्षलाई जोड्न सकेका छैनौं।’
उनले यस समस्यालाई सम्बोधन गर्न ‘श्रम रोजगार सम्मेलन’ गरेर आगामी दशकलाई ‘रोजगारी दशक’ बनाउने लक्ष्य राखेको बताए। ‘वैदेशिक रोजगारीको निर्भरतालाई घटाएर लैजान यो दशक सुरू गरेका हौं,’ मन्त्री भण्डारीले भने, ‘रोजगारको विकल्प रोजगार नै हो, अरू केही होइन।’
मन्त्री भण्डारीका अनुसार रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउन र श्रमिकलाई रोजगारको जानकारी दिन श्रम सञ्चार डिजिटल पोर्टलको सञ्चालन गरिएको छ। उनले पोर्टलमार्फत ७५३ वटै पालिकालाई जोड्ने तयारी भइरहेको बताए।
उनले नेपालमा ‘बिना भन्सुन जागिर पाइँदैन’ भन्ने गलत धारणालाई पोर्टलले चिर्ने विश्वास व्यक्त गरे। ‘पोर्टललाई नागरिक एपसँग जोडिनेछ, वैदेशिक रोजगारका डिमाण्डहरूसँग पनि यसलाई जोडेर विचौलिया नियन्त्रण गर्न सघाउ पुग्नेछ,’ मन्त्री भण्डारीले भने।
वैदेशिक रोजगारीमा ३६ हजार ठगीका उजुरी रहेको र त्यसको समाधानका लागि काम भइरहेको जानकारी दिँदै उनले स्वचालित रूपमा न्यूनतम तलब निर्धारण गर्ने र सामाजिक सुरक्षा अनिवार्य गर्ने विषयमा ऐन कानुन संशोधनको तयारी भएको बताए।
मन्त्री भण्डारीले भैँसेपाटीमा रहेको राष्ट्रिय व्यवसायिक तालिम केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गरी रोजगारीका तालिमहरू सञ्चालन भइरहेको जानकारी पनि दिए। उनले वैदेशिक रोजगारीमा जानेहरू छोटो समयका लागि गएको उल्लेख गर्दै फर्केर आउनेहरूको सीपलाई मुलुकको समृद्धिमा परिचालन गर्नुपर्ने धारणा राखे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology