काठमाडौं | भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। बुधबार साँझ इन्स्टाग्राममार्फत उनले टेस्ट क्रिकेटलाई बिदाइ गर्दै आगामी दिनमा एकदिवसीय क्रिकेट खेल्ने बताएका हुन्।
इन्स्टाग्राममा उनले लेखेका छन्, "टेस्ट क्रिकेटबाट सन्यास लिँदैछु। यो यात्रा गौरवपूर्ण रह्यो। सबैको माया र समर्थनका लागि धन्यवाद। म एकदिवसीय खेल जारी राख्नेछु।"
विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा भारत पुग्न नसकेको र इंग्ल्यान्ड भ्रमणमा कप्तानीबाट हटाइने चर्चा चलिरहेका बेला रोहितको यो निर्णय आएको हो।
२०१३ मा टेस्ट डेब्यु गरेका रोहितले ६७ खेलमा ४३०१ रन बनाएका छन्, जसमा १२ शतक समावेश छन्। घरबाहिर विशेष गरी अष्ट्रेलिया र दक्षिण अफ्रिकामा उनको प्रदर्शन कमजोर देखिएको थियो।
टेस्ट टिममा अब यशस्वी जायसवाल वा केएल राहुलले ओपनिङमा स्थान पाउने सम्भावना रहेको छ। भारतीय क्रिकेट बोर्डले नयाँ टेस्ट कप्तानको घोषणा छिट्टै गर्ने बताइएको छ।




















.gif)