लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताएका छन् । सोमवार २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएपनि त्यो अघि बढ्न नपाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले लडाईं अगाडी नबढोस् भनेर आँफुहरुले कामना गरेको बताए । भारत र पाकिस्तानले लडाईंमा जान नदिने प्रतिवद्धता व्यक्त गरेको बताउँदै उनले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिए ।
उनले फेरि पनि दुवै देशबीच केही आरोप÷प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गर्दै बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए । प्रधानमन्त्री ओलीले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राखे ।
प्रधानमन्त्रीले भने, ‘केही दिन अगाडी मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’ बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीले जिकिर समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology