काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गरेका छन् । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताए ।
अध्यक्ष ओझाले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गरे । उनले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताए । अध्यक्ष ओझाले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताए । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तायर छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो ।’
अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियता हुनुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology