काठमाडौं । नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङ्मा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको सूचना प्राप्त गरेपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका – २ देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका – १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका – १ दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् ।
पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैह्रसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते गरी नक्कली बनाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नक्कली कागजात डिजाइनको लागि दुई जना सहयोगीलाई मासिक दश हजारदेखि १५ हजारसम्म तलब दिएर काम गराउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह सर्टिफिकेटदेखि बैङ्कबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको खुलेको छ । यस्तै, विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
यस्तै उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु उपलब्ध गराउने, जापान लगायतका देशहरूमा कामदार भिसामा जानको लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव पत्र समेत बनाइ दिने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड आवेदनको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेको पाइएको छ । साथै, भिजिट भिसाको लागि ’क’ वर्गका सबै बैङ्कको नक्कली बैङ्क स्टेटमेन्ट समेत बनाइदिने गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, एक सय १० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान म्यारिज रजिस्टे«शन सर्टिफिकेट, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी दर्ता प्रमाण बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न सहकारी संस्थाका लेटर प्याडहरू, विभिन्न बैङ्क तथा सहकारीहरूको स्टेटमेन्ट पानाहरू, स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्रहरू समेत बरामद भएको छ ।
उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology