काठमाडौं । साउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ। बिहीवार काठमाडौंको पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हज यात्रालाई यसपटक विगत वर्षभन्दा व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले हज यात्रालाई थप व्यवस्थित बनाउन सरकारको प्रयास जारी रहेको र हज गर्न जाने सबैलाई शुभकामना पनि व्यक्त गरे।
मन्त्री पौडेलले भने, 'नेपाली मुस्लिम समुदायको परम्परागत विषय हो। यसलाई व्यवस्थित गर्ने प्रयास गरेका छौं। अहिले हज यात्रामा एक हजारभन्दा धेरै जना मक्का-मदिना जाँदै हुनुहुन्छ। तपाईंहरू सबैलाई शुभकामना दिन चाहन्छु। आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित गर्नेछौं।'
नेपाल हज यात्र समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज हाउस निर्माण गर्न सरकारसँग माग गरेका छन। उनका अनुसार, नेपालमा हज हाउस नहुँदा पञ्चकाश्मिरी मस्जिदमा बस्न बाध्य भएको स्थिति छ। अध्यक्ष मियाँले मस्जिदमा बस्नको व्यवस्था नभए हज यात्रीहरू अलपत्र पर्ने स्थितिमा पर्ने भन्दै हज हाउसको व्यवस्थाका लागि सरकारको पहल आवश्यक रहेको बताए।
अध्यक्ष मियाँले भने, 'नेपालमा एउटा हज हाउस नहुँदा हामी मस्जिदमा बस्न बाध्य छौं। यदि मस्जिद नभएको भए नेपाली हज यात्रीहरू बाटोमै अलपत्र पर्ने थिए। सरकारसँग हज हाउसको व्यवस्था गरिदिन आग्रह गर्छु।'
यसपटक नेपालबाट साउदी अरबस्थित मक्कामा हज गर्न एक हजार एक सय ७० जना जाने तयारीमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology