काठमाडौं । जलवायु परिवर्तन र पर्वतीय चुनौतीहरूबारे विश्व समुदायमा सन्देश पुर्याउने उद्देश्यका साथ सुरु भएको ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो संवादको मुख्य नारा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ।
सरकारले पहिलो पटक आयोजना गरेको यो अन्तर्राष्ट्रिय संवादमा १७५ विदेशी अतिथिहरू नेपाल आएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार, चीन, भारत लगायतका मुलुकका विशिष्ट पाहुना कार्यक्रममा सहभागी हुँदैछन्।
संवादको उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सन्देश प्रस्तुत गरिनेछ। त्यसपछि ‘प्लेनरी सेसन’ आयोजना हुने बताइएको छ। कार्यक्रममा भारत र चीनका उच्चस्तरीय प्रतिनिधिमण्डलका साथै कोप–२९ का अध्यक्ष र अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधिले सम्बोधन गर्नेछन्।
संवादको पहिलो दिनमा विभिन्न विषयगत समानान्तर सत्रहरू आयोजना हुनेछन्। जलवायु परिवर्तन र पर्वतीय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि राजनीतिकर्मी, नीति निर्माता, वैज्ञानिक, विज्ञ र अनुसन्धानकर्ताहरूबीच छलफल हुनेछ।
तीन दिनसम्म चल्ने संवादमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक लगायतका ६१ विदेशी तथा स्वदेशी संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। संवादको अन्तिम दिन विदेशी अतिथिहरूका लागि हिमाली उडानको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरिएको छ। साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयोजक र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहसंयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ।
नेपालको जलवायु संरक्षणमा गरिएका असल अभ्यासलाई विश्वमाझ पुर्याउने र जलवायु संकट समाधानमा विश्वका असल अभ्यासबाट सिक्ने उद्देश्यले संवाद आयोजना गरिएको हो। संयुक्त राष्ट्रसंघले २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षको रूपमा घोषणा गरेसँगै हिमालको संरक्षणका मुद्दालाई संवादमा विशेष महत्वका साथ प्रस्तुत गरिनेछ।
सगरमाथा संवादलाई बहुसरोकारवाला मञ्चका रूपमा विकास गर्दै जलवायु, पर्वत र मानवतासँग सम्बन्धित विश्वव्यापी मुद्दामा विचार-विमर्श गर्ने र समाधानका उपायहरू खोज्ने यो पहलले नेपाललाई जलवायु नेतृत्वको भूमिकामा स्थापित गर्ने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology