देवदह । भगवानपुर-धकधई-खैरेनी सडकको शिलान्यास भएको छ । शनिवार एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सडकको शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै मन्त्री ढकालले लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना निर्माण गरेर काम गरिरहेको बताए । प्रदेशका मुख्य सडकलाई गुरुयोजनामा समावेश गरेर सोही अनुसार काम गर्ने गरी सरकार अघि बढेको उनले बताए ।
स्थानीय सरकारले पनि स्थानीय सडक गुरुयोजना निर्माण गरेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सडकसंजालको विकास संगै स्थानीयको जनजीवनमा पनि परिवर्तन हुनुपर्ने विचार राखे । 'सडक निर्माणसंगै स्थानीयको जीवनस्तर उकासिनुपर्छ ।' मन्त्री ढकालले भने, 'त्यसो भयो भने मात्र त्यसले प्रतिफल दिएको मान्न सकिन्छ ।'
सोही मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले एशियन विकास बैंक (एडिवि) को सहुलियत ऋणमा योजना अघि सारिएको बताए । उनले ५० करोडको आयोजना ३७ करोड ९ लाख ३३ हजार रुपैयाँमा टेन्डरमा गएको र वानिया निर्माण सेवा प्रालिले दुई वर्षमा योजना सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए । २०८१ मङ्सिर १७ गते सम्झौता भएको योजना २०८३ पुष ८ गतेभित्र सम्पन्न हुने उनको भनाइ छ ।

त्यसैगरी सचिव पाण्डेले निर्माण भएको एक वर्षसम्मको मर्मत सम्भारको सबै जिम्मा निर्माण कम्पनीको हुने र त्यसपछिको थप एक वर्षको लागि आवश्यक मर्मतको लागि समेत रकम व्यवस्था गरिएको बताए । उनले सडकको लम्बाई १२.२८ किलोमिटर हुने र चौडाई १० मिटर हुने बताए । गुणस्तर जांचको लागि सुपरभिजन टिम समेत निर्माण गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य आशिष कुमार चौधरीले समयमै गुणस्तरीय सडक बन्नुपर्ने बताए । ठेकेदार कम्पनीले सम्झौता अनुसार काम गर्नुपर्ने र त्यसमा स्थानीय जनप्रतिनिधि र नागरिकले आवश्यक निगरानी गर्न आवश्यक रहेको उनले बताए ।
देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले राम्रो निर्माण कम्पनीले ठेक्का लिएकोले समयमै गुणस्तरीय काम हुनेमा आफु विश्वस्त रहेको बताए । यो सडक आयोजना पुरा भएपछि नागरिकको जीवनस्तर उकासिने र आवतजावतमा सहज हुने उनको भनाइ छ ।
त्यसैगरी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ र देवदह-१ का वडा अध्यक्षले सडकको चौडाई कम भएको भन्दै सकिन्छ भने पुनर्मूल्यांकन गर्न सुझाव दिए । 'देवदहका भित्रि सडकपनि २४ फुट भन्दा कम छैनन् तर यो सडक जम्मा २२ फुटको हाराहारीमा हुने देखियो ।' उनीहरुले भने, 'देवदहको भित्री राजमार्गको रुपमा समेत चिनिने यो सडकमा सानो हुने देखिन्छ ।' उनीहरुले सबै ठाउँमा नाली हुनुपर्नेमा त्यसो नभएको पाइएकोले योजनाले अपेक्षा गरेजति प्रतिफल नदिने होकी भन्ने आशंका गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे लगायत देवदहका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सडक निर्माण गर्ने क्रममामा १९५ वटा विद्युत पोल सार्नुपर्ने देखिएको छ । त्यसको लागि २ करोड २५ लाख रुपैयाँ खर्च हुने वानिया निर्माण सेवा, हेटौडाका प्रतिनिधिले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology