काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गर्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे ।
मन्त्री पौडेलले मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास व्यक्त गरे ।
मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं, उनले भने, यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।
स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।
आरोही शेर्पाले आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए । वैदेशिक रोजगारीका क्रममा मृगौला फेल भएको पत्ता लागेपछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरेका थिए ।
सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् ।
३७ वर्षीय शेर्पाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology