काठमाडौँ । बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्षको खेल जीवन पूरा गर्दै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।
लुकाकुले बेल्जियमको जर्सीमा १३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनी बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन् ।
सन् २०१० मा बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्न थालेका लुकाकुले टोलीको सफल पुस्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१८ को विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन उनको योगदान महत्वपूर्ण रहेको थियो । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए ।
उनले पछिल्लो पटक आइतबार इटालीविरुद्धको खेलमा टोलीमा रहे पनि मैदानमा उत्रने अवसर पाएनन् । उक्त खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको थियो ।
लुकाकुले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीका सहकर्मी तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उनले बेल्जियमका लागि १६ वर्षसम्म सक्दो योगदान दिएको उल्लेख गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology