देवदह । पशु सेवा शाखा देवदहले वडा नं ११ मा एक दिने बाख्रा शिविर सम्पन्न गरेको छ । शिविरमा करिब ८० जना किसानका चार सय ६७ वटा बाख्राको उपचार तथा निशुल्क औषधि वितरण गरिएको शाखाले जनाएको छ ।
कार्यक्रममा माटे, जुका, लिभरटोनिक, पाचक, ज्योरो, पखाला, किर्ना, खोकि, पेट फुलेको, साथै भिटामीन, खैरो र ज्वरोको ईन्जेक्सन लगाएत १७ किसिमका औषधि वितरण गरिएको शाखाका प्रमुख हर्क दानीले जानकारी दिए ।
देवदह नगरपालिका वडा नं ११ को मधपुर, कदमिपुर सौधहनिया र रेहेरामा गरिएको कार्यक्रममा शाखा प्रमुख दानी सहित पशु विकास अधिकृत प्रविन गौडेल, ईश्वर राज पन्त, पिताम्बर खरेल, अजय चौधरी सहित पाँच जना प्राविधिकहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष दुधनाथ यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य गोविन्द पासी, वडा सदस्य राज कुमार केवट लगाएतको उपस्थिति रहेको थियो ।
शाखाले हरेक वर्ष पहुँचमा नआउने र ग्रामीण तथा दुर्गम मानिने स्थानमा गई शिविर सञ्चालन गर्ने जनाइएको छ । आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई अगाडी बढाउने र अन्य वडाहरुमा समेत परिक्षणको कार्यक्रम गर्ने पशु विकास अधिकृत गौडेलले बताए ।
प्राविधिकहरुको पहुँच नपुगेका दुर्गम क्षेत्रमा शाखाले दिएको सेवाबाट किसानहरु हर्षित भएका छन् । उनीहरुले हरेक वर्ष यस्ता कार्यक्रमहरु आयोगना गरिनुपर्ने बताउँदै यसले पशुपालक किसानहरुलाई राहत मिलेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology