देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीद्वारा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगिताबाट दश जना विद्यार्थी राष्ट्रिय चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् । असारको अन्तिम साता काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देहीका विभिन्न विद्यालयबाट सहभागी ३३ मध्येबाट उत्कृष्ट ठहरिएका दश जनालाई छनोट गरिएको हो ।
नेशनल प्याब्सन रुपन्देहीका सचिव विनोद थापा मगरका अनुसार, सहभागी विद्यार्थीले बनाएको चित्रकलाका आधारमा छनोटमा परेका विद्यार्थीलाई प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गरिएको छ ।
छनोटमा पर्ने विद्यार्थीहरूमा सगरमाथा आवासीय माध्यमिक विद्यालयका पुष्कल पाण्डेय, आश्ना खरेल र ईस्पु पोखरेल, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलका राजिब खनाल, उमेश विश्वकर्मा र संस्कृती ज्ञावली, न्यू लुम्बिनी इंग्लिस बोर्डिङ स्कुलका जगत राना र प्रिन्सिका पाइजा तथा ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुलका दिपसना थापा र रिसिका बलाल रहेका छन् । काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धाका लागि अब यी दश जनाले रुपन्देहीको प्रतिनिधित्व गर्नेछन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले प्रतियोगिता हारजितभन्दा बढी सहभागितामूलक अभ्यास भएकाले विद्यार्थीलाई हरेक क्षेत्रमा अग्रसर बन्न आग्रह गरे । उनले छनोटमा परेका विद्यार्थीलाई बधाई दिँदै राष्ट्रिय प्रतियोगिताको लागि सफलताको शुभकामना समेत दिए ।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रममासौगात भट्टराईले कार्यक्रममा सहभागि विद्यार्थी एवम् शिक्षकहरुलाई स्वागत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology