भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ चिल्हिया मा वि मा सम्पन्न भएको दोस्रो जुनियर नकआउट फुटबल प्रतियोगिताको उपाधि दुर्गा युवा क्लबले हाथ पारेको छ । दुर्गा युवा क्लबको आयोजनामा शनिबार भएको फाइनल खेलमा अमर ज्योतिलाई २-० गोलको अन्तरले हराउँदै आयोजक समेत रहेको क्लबले उपाधि जितेको हो ।
उपाधि जितेसंगै दुर्गा युवा क्लबले नगद रु. १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उप-विजेता बनेको अमर ज्योतिले नगद रु. ८ हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको थियो ।
खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सियारी-१ का कार्यवाहक वडा अध्यक्ष धनराज शर्माले स्वास्थ्य जीवन र देश विकासका लागि खेलकुद महत्वपूर्ण रहेको बताएका थिए । उनले स्थानीय स्तरमा भइरहेको खेलले युवाहरूलाई अनुशासन सिकाउनुका साथै विकास निर्माण कार्यहरुमा एकजुट भई अगाडि बढ्ने काम पनि सिकाईरहेको कुरा बताएका थिए । आफु राजनीतिमा लाग्नु भन्दा पहिला पनि यस क्षेत्रको विकासका लागि विगतका दिनदेखि सहयोग गर्दै आएको र अगामी दिनमा पनि आर्थिक, सामाजिक र राजनैतिक रुपले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष नवीन कार्कीको अध्यक्षता रहेको प्रतियोगिताको समापन समारोहमा सियारी- १ का वडा सदस्य लक्ष्मी मल्ल, शान्ति बि क, कोटहीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर कार्की, चिल्हिया मा वि का प्राचार्य भिम पाण्डे लगायतले बोल्दै खेलकुद मानव जीवनका लागि लाभदायक रहेको र खेल क्षेत्रको विकासका लागि यस्ता खेलकुद सञ्चालन हुनुपर्ने कुरामा जोड दिएका थिए ।
स्थापना कालदेखि नै क्लबले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर टोलसमाजमा आपतविपत परेकालाई सहयोग गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको क्लबका उपाध्यक्ष सुमन विश्वकर्माले बताए । 'यस कारण पनि यो फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संस्थाहरुले हामीलाई धेरै सहयोग गरेका हुन्' उनले भने ।
असोज २३ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा रुपन्देही, पाल्पा लगायतका जिल्लाबाट कुल १७ टिमको सहभागिता रहेको थियो । क्लबका उपाध्यक्ष सुमन विश्वकर्माको स्वागत एवं पत्रकार सन्जु पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology