Logo

२०८३, श्रावण २७गते


images
images

शैक्षिक बहस

देवदहमा बिहानी र दिवा कक्षाको बहस : निर्देशन विपरित गए खारेजीसम्मको चेतावनी

देवदहमा बिहानी र दिवा कक्षाको बहस : निर्देशन विपरित गए खारेजीसम्मको चेतावनी

पाठ्यभार पुरा नभएको भन्दै बिहानी कक्षा सञ्चालनमा राेक
images
  • देवदहमा बिहानी र दिवा कक्षाको बहस : निर्देशन विपरित गए खारेजीसम्मको चेतावनी
    images
    images

    देवदह। यतिबेला रुपन्देहीको देवदहमा कक्षा ११-१२ को कक्षा दिउँसोमा संचालन गर्ने कि बिहान भन्ने विषयले चर्चा पाएको छ। जसमा अधिकांश निजि विद्यालयका संचालक र त्यहाँ पढाउने केही व्यक्तिले कक्षा बिहानमा हुनुपर्ने मत राख्दै आएका छन् भने नगरपालिका र अधिकांश सामुदायिक विद्यालय तथा शिक्षकहरूले विद्यालय तहको कक्षा १-१० सम्म दिवामा संचालन भएकोले ११-१२ पनि दिवामै संचालन हुनुपर्ने मत राखेका छन्। जसले केही दिनदेखि समाजिक संजाल समेत तताईराखेको छ।

    images
    images
    images

    बिहानी सत्रमा कक्षा ११ र १२ को कक्षा संचालन गर्दा स्वीकृत पाठ्यक्रममा, तोकिएको पाठ्यभार, कार्यघण्टा र विषयवस्तुहरू पुरा नहुने भन्दै देवदह नगरपालिकाले विद्यालय तहको ११-१२ को कक्षापनि १-१० सम्मको कक्षा झैँ दिउसोमा संचालन गर्न/गराउन २७ असार २०७६ मा पहिलो पटक सूचना जारी गर्यो। जसमा नगरभित्र  सामुदायिक एवं संस्थागत विद्यालयलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार शिक्षण गर्नुपर्ने हुँदा दिवा सत्रमा नै सञ्चालन गर्न निर्देशन दिएको  थियो । तर भौतिक संरचना निर्माण गर्नुपर्ने तर्क विद्यालयले गरेपछि तत्कालको लागि नगरपालिका लचिलो भयो या केही विद्यालयले नगरपालिकालाई  टेरेनन। तत्पश्चात केही विद्यालय बिहान संचालित भए त केही दिउसो । नगरपालिकाको पहिलो निर्देशन कार्यान्वयन गर्ने विद्यालयहरू  केरवानी माध्यमिक विद्यालय, प्रगति मावि, भविष्य निर्माण मावि र बुद्ध पब्लिक स्कुलले कार्यान्वयन गरे तर केही महिनापछि विद्यार्थीको समस्या देखाउदै बुद्ध पब्लिक र भविष्य निर्माण  विद्यालयले  पुन: बिहानी सत्रमै कक्षा सञ्चालन गरे । तर नगरबाट न कुनै अनुगमन भो न कुनै कारवाही। बिहानी सत्रमै निरन्तर चल्यो ११ १२ कक्षा ।

    images
    images
    images

    अहिले पुन: नगरपालिकाले ४ वर्ष पछि हाल २१ असार  २०८० मा सूचना प्रकाशन गरि दिवा सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    देवदहमा कक्षा १२ सम्म पढाई हुने ९ सामुदायिक र ४ निजी  गरि जम्मा १३ वटा विद्यालय रहेका छन् । नगरको यो निर्णयले एकातर्फ भौतिक संरचना, शिक्षक अभाव  लगायत कारण देखाउदै दिवा सत्रको विरोध भएको छ भने अर्को तर्फ विद्यार्थीले दिवा सत्र पढाए पुरै समय पढ्न पाउने र शैक्षिक स्तरमा सुधार हुने भन्दै समर्थन पनि भएको छ ।

    निर्देशन विपरित गए खारेजीसम्मको चेतावनी !

    देवदह नगरपालिकाकाका शिक्षा शाखा अधिकृत टिकाराम शर्माका अनुसार राष्ट्रिय पाठयक्रम प्रारूपले ६ घण्टा अनिवार्य पढाउनुपर्ने ऎन बनाएको र विद्यार्थीले पनि पुरै पाठ्यक्रम पढ्नुपर्ने भएको कारण बिहानी सत्रमा समय अपुग हुने भएकोले दिवा सत्रमा पढाई सञ्चालनका लागि निर्देशन दिएको बताए । यो निर्णय तत्काल आएको नभई भौतिक संरचना, शिक्षक व्यवस्थापन लगायतका लागि ३ वर्ष समय दिएर अहिले नगरपालिकाले कार्यन्वयनका लागि निर्देशन दिएको बताए । देवदहका विद्यालयहरूमा माध्यमिक तहको पढाई 'दिवा सत्रमा सञ्चालन हुँदा विद्यार्थी बुटवल लगायत अन्यत्र अध्ययन गर्न जाने देखिएको र देवदहको शैक्षिक क्षेत्रमा गम्भीर असर पर्ने देखिएको भन्ने आरोप' अधिकृत शर्माले ठाडै अस्वीकार गरे। कानुन बमोजिम नगरपालिकाले दिवा सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको निर्देशनलाई अटेर गरे अनुमति खारेजीसम्मको कामकारबाही गरिने अधिकृत शर्माको भनाई छ ।

     

    विद्यालयको आफ्नै समस्या

    देवदह माध्यमिक विद्यालयका प्राचार्य हरि प्रसाद पाण्डेले कक्षा ९ देखि १२ सम्म मावि तहमा पर्ने सरकारले वर्गीकरण गरिसकेको र सोही बमोजिम पाठ्यक्रम परिमार्जनसमेत भइसकेकोले दिवा सत्रमा कक्षा सञ्चालन गर्नुपर्ने भएको बताए । तर भौतिक संरचना र दक्ष जनशक्तिको अभावका कारण दिवा कक्षा सञ्चालनमा समस्या भएको बताए। शिक्षक र कक्षा कोठा अभाव भएकोले कार्यान्वयनमा ल्याउन केही समय लाग्ने बताए।

    त्यस्तै कक्षा १२ सम्म सञ्चालनमा रहेको देवदहको महामाया भवानी माविले दिवा कक्षा सञ्चालनको तयारी थालेको विद्यालयका प्राचार्य ऋषिश्वर अर्यालले बताए। यसअघि नगरपालिकाको निर्देशन अनुसार दिवा सत्रमा सञ्चालन गर्ने अभ्यास गरिए पनि भौतिक संरचना र जनशक्ति अभावका कारण लागू गर्न नसकिएको बताए।

    देवदह नगरपालिका शिक्षा समितिका सदस्य समेत रहेका अर्यालले कक्षा कोठाको अभावका कारण पार्किङ क्षेत्र र चमेना गृहलाई खाली गरेर कक्षा कोठा र फर्निचर व्यवस्थापन गरि स्थायी रुपमा दिवा सत्रमा लैजाने तयारी थलिएको बताए ।

    छलफल बिना निर्णय गरियो निजी विद्यालय

    त्यस्तै निजी तथा आवासीय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष राम बहादुर गुरुङले नगरपालिकाले नगर शिक्षा नियमावली र कार्यविधि नबनाएर धम्कीको भाषामा निर्देशन दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। आफूले दिवा सत्र कक्षा सञ्चालनको विरोध नगरेको यद्यपि नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेर विद्यालयमा जनशक्ति छ कि छैन, कक्षा कोठा लगायत भौतिक पूर्वाधार पर्याप्त छन् कि छैनन् यी विषको अध्ययन गरेर निर्देशन दिनुपर्ने तर्क व्यक्त गरे। नेपाल सरकार र सरकार मातहतको पालिकाले गरेको निर्णय मान्नुपर्छ तर हतारमा निर्णय गर्दा प्रतिउत्पादक हुने देवदह मदर टङ्स एकेडेमीका प्राचार्य समेत रहेका गुरुङको तर्क रहेको छ।

    त्यस्तै सगरमाथा आवासीय माविका प्राचार्य कृष्ण प्रसाद पौडेलले शैक्षिक क्षेत्रका विशेषज्ञ तथा सञ्चालकसङ्ग छलफल नगरीकन बिहानी सत्रको कक्षालाई दिवा सत्रमा लैजाने निर्णय नगरपालिकाले गरेको बताए। अहिले बिहानी, दिवा तथा रात्रिकालीन कक्षा समेत सञ्चालन भैरहेकोले विद्यार्थीले आफूलाई कुन समयमा पढ्न उचित लाग्छ, सोही अनुसार पढ्न पाउनुपर्ने उनको तर्क छ । देवदह नगरपालिकाको वर्तमान शिक्षा समितिका सदस्य समेत रहेका पौडेलले सबै विद्यालयलाई एउटै डालोमा हालेर निर्देशन दिन नहुने बताए । कुन-कुन विद्यालयमा क्रेडिट आवर पुगेको छैन ती विद्यालयहरूको अनुगमन गरेर कानुनी दायरामा ल्याउने काम नगरपालिकाको रहेको प्राचार्य पौडेलको भनाई छ ।

    विद्यार्थी र अभिभावकको फरक मत

    एसईई दिएर  विद्यालय भर्नाकालागि एक सामुदायिक विद्यालय पुगेका देवदहका नवराज पौडेलले कक्षा ११ दिवा सत्रमा नै हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने ‘बिहानै पढाइ हुँदा सबै विषय पढ्न पाइदैन बिहान ६ बजे कक्षा सुरु हुन्छ १० नबज्दै स्कुलका विद्यार्थी कक्षा बाहिर आइपुग्छन्’ ११ र १२ लाई फरक  समयमा पढाउन सके गुणस्तरीय शिक्षा पाउने उनको भनाइ छ ।

    यता अर्का विद्यार्थी रोहित सापकोटा भने बिहानी सत्रमा कक्षा सञ्चालन हुँदा दिउसोमा पार्ट टाइम जागिरमा सहभागी हुन पाइने भएकोले दिवा सत्र कक्षा सञ्चालन गर्न नहुने बताउँछन्‌। उनले भने ‘आफ्नो पढाइको खर्चको जोहो आफै गर्नुपर्छ पढ्दै कमाउदै गर्न सहज हुने थियो दिउसोको कक्षाले गारो होला जस्तो छ’ । उनका अनुसार नगरपालिकाको सो निर्णयले  विपन्न विद्यार्थी शिक्षाबाट बञ्चित हुने जोखिम बढेको छ ।

    अभिभावक लक्ष्मी पौडेलले सामुदायिक र निजी विद्यालयले वाषिर्क २ सय ५० घण्टा कम पढाएर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताइन। उनले भनिन्, ‘नगरपालिकाले धेरै राम्रो निर्णय गरेको छ, विद्यालयहरू चर्को शुल्क लिने तर तोकिएको पाठ्रयभार  अनुसारको समय नपढाउने हाम्रो बच्चलाई भुलाउन हैन शिक्षा दिन पठाएको हो’। बिहानी सत्रमै कक्षा सञ्चालन गर्ने भए क्रेडिट आवर बढाउनुपर्ने र गुणस्तरीय शिक्षा दिनुपर्ने उनको भनाई छ।

    शिक्षा नीतिमा के छ ?

    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ११ र १२ का लागि वाषिर्क २७ पाठ्यघण्टा अर्थात वाषिर्क आठ सय ६४ कार्यघण्टा पाठ्यभार तोकेको छ । पाठ्यक्रम विकास केन्द्रले तोकेको समय अनुसार एउटा सत्रमा कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ तर बिहान पढ्ने विद्यार्थीले ६ बजे देखि १० बजेसम्म ४ घण्टा मात्र समय पाउछन । त्यसमा पनि पढाई सुरु र बिदा गर्दा पढाई हुने समय साढे तीन घण्टामात्र रहन्छ । एउटा विद्यालयले दुवै सत्रको पढाई गर्दा बिहानी सत्रमा पाठ्यभार समय-क्रेटिड आवर पुगेको छैन ।

    शिक्षा महाशाखाले दिवा सत्रमा मात्र पढाइ सञ्चालन गर्न भन्दै २०७८ फागुन २० गते लिखित निर्देशन जारी गर्‍यो तर पनि केही विद्यालयहरूले कार्यन्वयन गरेको पाइदैन। सामुदायिक र निजी विद्यालयले वाषिर्क २ सय ५० घण्टा कम पढाएर बालबालिकाको भविष्यमाथि खेलवाड हुँदा समेत नियामक निकाय भने मुकदर्शक बन्दै कार्यन्वयन गर्न फितलो साबित भएको सरोकारवाला बताउँछन्  ।

     

    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ (पूर्ण पाठसहित)

    https://media.edusanjal.com/u/national_curriculum_framework_2076.pdf

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।