Logo

२०८३, कार्तिक १५गते


images
images

क्रिकेट

देवदहमा वढ्दो क्रिकेट संस्कृति, छैनन् संरचना

देवदहमा वढ्दो क्रिकेट संस्कृति, छैनन् संरचना

images
  • देवदहमा वढ्दो क्रिकेट संस्कृति, छैनन् संरचना
    images
    images

    देवदह । मैदानमा बल र ब्याटको प्रतिस्पर्धा, छक्का चौकामा प्रफुल्लीत हुने दर्शक र खुशी साझा गर्न तम्मतयार खेलाडी । पछिल्लो समय रुपन्देहीको देवदहमा क्रिकेट खेल्ने र हेर्ने क्रिकेप्रेमीहरुको संख्या बढ्दै गएको छ । देशब्यापी रुपमा वढ्दो क्रिकेट संस्कृतिको जवर्जस्त प्रभाव देवदहमा पनि देख्न सकिन्छ । फलस्वरुप सधैँ मोबाइल फोनमा ब्यस्त रहने युवा पुस्ता बल र ब्याटमा रमाइरहेका छन् । 

    images
    images
    images

    पछिल्ला दिनहरुमा हरेक टोल र वस्तीहरुमा क्रिकेट खेल्ने र हेर्ने मानिसहरु भेटिन्छ । चिया चौतारो र सार्वजनिक स्थलमा गफिने क्रिकेट राम्रो बिषय बनेको छ । बालबालिकाले क्रिकेटर बन्ने सपना देख्न थालेका छन् । डाक्टर पाइलटको सपना देख्ने अभिभावकले क्रिकेट खेल्ने छोरा छोरीलाई हौसला दिन थालेका छन् । 

    images
    images
    images

    देवदहका विद्यालयहरुमा पनि क्रिकेट समावेस हुन थालेको छ । उनीहरुले विद्यालय स्तरीय टिम बनाएर प्रतियोगिताहरुमा भाग लिने परम्पराको सुरुवात भएको छ । युवाहरुको सपना र समाजमा संस्कृतिको रुपमा क्रिकेट विकास भइरहँदा देवदहमा क्रिकेटको भौतिक संरचना भने कमजोर अवस्थामा रहेको छ । राष्ट्रिय टिमबाट देशको प्रतिनिधित्व गर्ने सपना देखिरहेका देवदहका युवाहरुको सपना पूर्वाधारको अभावका कारण सपनामै सिमित हुने देखिन्छ । 

    images
    images
    images

    डीपिएलले बढायो क्रिकेटको क्रेज 

    देवदहमा क्रिकेटको लोकप्रियता बढाउन देवदह प्रिमियर लिग (डिपिएल) ले महत्वपूर्ण भूमिका खेलेको छ । डिपिएल तेस्रो संस्करणमा आइपुग्दा यसको इतिहास बुद्ध मावली क्रिकेट क्लवसंग जोडिएको देखिन्छ । जसले यसको औपचारिक सुरुवात गरेको थियो । दोस्रो संस्करणबाट यसको स्वामित्व डी-युनिटी युथ क्लबले लिएर त्यसलाई संचालन गर्दै आउँदा प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको पाइन्छ ।

    डीपीएलको पहिलो संस्करणमा पाकडी प्यान्थर्सले उपाधि जितेको थियो । दोस्रो संस्करणमा पनि पाकडीकै टोलीले उपाधि रक्षा गर्न सफल भयो । पहिलो संस्करण सामान्य किसिमबाटै सम्पन्न भएपनि दोस्रो संस्करणमा ६ टोली सहभागी भएर खेलाडीको लिलामी र फ्रेन्चाइजी निर्माणको प्रक्रियाले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोचकताको साथमा अघि बढायो । 

    तेस्रो संस्करसम्म आईपुग्दा डिपिएलमा फ्रेन्चाइजीको संख्या ६ बाट बढेर ८ बन्न पुग्यो । देवदह–७, शीतलनगरस्थित डिसियू क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि १२ लाख रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको थियो । विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरियो । 

    डीपिएलले खेलाडीलाई प्रतिस्पर्धाको मञ्च दिनुका साथै स्थानीय क्लबबीच सहकार्य र खेलप्रेमीको आकर्षण बढाएको छ । तर प्रतियोगिताको उत्साहलाई दीर्घकालीन क्रिकेट विकाससँग जोड्न नियमित प्रशिक्षण र पूर्वाधार निर्माणमा पनि ध्यान दिन उत्तिकै आवश्यक छ । 

    क्रिकेट पूर्वाधार विकासमा लगानी कति छ ?

    देवदहमा क्रिकेटको पूर्वाधार निर्माणमा लगानी पर्याप्त मात्रामा नभए पनि सुरुवात भने भएको छ । निरन्तरको पहल पश्चात संघीय सरकार, लुम्बिनी प्रदेश सकार र देवदह नगरपालिकाले शीतलनगरस्थित डिसियू क्रिकेट मैदानमा लगानीको सुरुवात गरे पनि देवदहमा रहेका अन्य क्रिकेट मैदानमा लगानीको अवस्था शुन्य छ । देवदहको विभिन्न स्थानमा क्रिकेट मैदान भए पनि त्यसको संरक्षण र लगानी हुन नसकेको खेलकुद विकास समिति संयोजक कमल पाण्डे बताउँछन् ।  

    पूर्व राष्ट्रिय खेलाडी तथा क्रिकेट प्रशिक्षक शक्ति गौचले घोडाहा खोलाको पूर्वी किनारमा रहेको डिसियू क्रिकेट मैदानलाई आधाभुत रुपमा खेल्न योग्य बनाउनका लागि भूमिका खेलेका थिए । गौचनले विभिन्न समयमा यही मैदानमा क्रिकेट प्रशिक्षण समेत दिदै आइहेका छन् । 

    देवदह नगरपालिकाका तत्कालिन प्रमुख हिरा बहादुर खत्रीको कार्यकालमा मैदान निर्माणको लागि डिपिआर तयार भए पनि कार्यान्वयन भने हुन सकेन । नेतृत्व परिवर्तन भएसंगै योजनाहरु पनि अलपत्र पर्ने प्रचलनका कारण अधिकांश पूर्वाधार निर्माण कार्यमा निरन्तरता हुन नसकेको खत्रीको बुझाई छ । 
    देवदह नगरपालिका वडा नं ७ ले खेल मैदानमा २ लाख खर्च गरेर ट्रेनिङ नेट निर्माण गरेको छ । वडामा सिमित बजेट हुने भएका कारण क्रिकेट मैदानका लागि यथेष्ट बजेट विनियोजन गर्न नसकिएको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । 

    चालु आर्थिक बर्षमा डिसियू क्रिकेट मैदान स्तरोन्नतीका लागि लुम्बिनी प्रदेश सरकार र देवदह नगरपालिकाले १५÷१५ लाख विनियोजन गरेका छन् । विनियोजित रकमले खेल मैदानको संरक्षणका लागि बाउन्ड्री निर्माण गर्ने योजना रहेको नगरप्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए । क्रिकेट मैदानको स्वामित्व समस्याका कारण संघीय सरकारबाट अपेक्षित सहयोग लिन नसकिएको उनको भनाई छ । 

    देवदहमा साना ठुला गरेर करिव २० वटा क्रिकेट खेल्न मिल्ने मैदानहरु रहेका छन् । हाल डिसियू क्रिकेट मैदानमा मात्रै नियमित प्रतियोगिता हुँदै आइरहेको छ । ब्यवस्थित क्रिकेट मैदान नहुँदा अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न समस्या भइरहेको डिपिएलका संयोजक गोपाल भण्डारीले बताए । क्रिकेट मैदानको संरक्षण र विकासमा सरकारले लगानी गर्नु पर्ने उनको माग छ । 

    खेल मैदानमा शौचालय, खानेपानी, सुरक्षा घेरा नहुँदा समस्या भएको खेलाडी प्रेम भुर्तेलले बताउँछन् । ‘धेरै पटक खेल सामग्री हराउँछ, मैदानमा स्थानीयले भैसी चराउँछन्, पिच विग्रन्छ समस्या छ ।’ उनले भने, ‘यसका कारण पनि हामीलाई निकै सास्ती हुनेगरेको छ ।’

    खेलकुदसँगै आर्थिक अवसर

    क्रिकेटको विकासले खेलाडी उत्पादनमा मात्रै होइन, स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याउन सक्छ । व्यवस्थित मैदान र नियमित प्रतियोगिता भए देशका विभिन्न क्षेत्रबाट टिम, खेलाडी तथा दर्शक देवदह आउने सम्भावना बढ्छ । यसबाट होटल, रेस्टुराँ, यातायात र अन्य स्थानीय व्यवसायीले समेत लाभ लिन सक्ने सम्भावना रहन्छ ।

    देवदहको धार्मिक तथा पर्यटकीय पहिचानसँग खेलकुदलाई जोड्न सके खेल पर्यटनको सम्भावना पनि विस्तार हुन सक्छ । त्यसका लागि प्रतियोगितालाई थप व्यवस्थापन, पूर्वाधारको विकास र स्थानीय तहको चासो र सक्रियता आवश्यक हुन्छ ।

    नगरले क्रिकेट मैदानको अवस्था, जग्गाको उपलब्धता र आवश्यक बजेटको अध्ययन गरी चरणबद्ध योजना बनाउनुपर्छ । नगरको बार्षिक नीति तथा कार्यक्रममा खेलकुदलाई प्रार्थमिकता दिँदै देशभर बढ्दो क्रिकेटको क्रेज अनुरुप विद्यालयस्तरमा क्रिकेट प्रशिक्षण विस्तार गर्ने, उमेर समूहअनुसार प्रतियोगिता सञ्चालन गर्ने र स्थानीय क्लब तथा एकेडेमीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके देवदहको क्रिकेट थप उचाइमा पुग्ने देखिन्छ ।

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।