देवदह । एउटा घर बनाउने सपना थियो । त्यसकै लागि जग खनियो, पिल्लर उठाइयो । तर घरको छानो हाल्नुअघि नै परिवारमाथि यस्तो विपत्ति आइपर्यो, जसले आमाको काख र घर दुवैलाई अधुरो बनाइदियो ।
देवदह(७, मदनग्रामका अस्मित अधिकारी र अश्विन अधिकारी अहिले परिवारका साथमा छैनन् । गत भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी भोटेकोशी बाढीमा परेर उनीहरू दाजुभाइ बेपत्ता भए । बाढीमा बेपत्ता भएको एक महिना बित्नैलाग्दा समेत उनीहरूको अवस्थाबारे हालसम्म केही सार्वजनिक भएको छैन ।
यातायात मजदुरका रूपमा काम गर्दै आएका अस्मित र अश्विन कामकै सिलसिलामा रसुवामा रहेका बेला बाढीमा परेका थिए । उनीहरू बेपत्ता भएपछि आमा शारदा अधिकारीका लागि एकातिर दुई छोराको पीडा छ, अर्को तिर उनीहरूले सुरु गरेर छाडेको घरको सपना । आमा शारदाले भनिन्, ‘हामी भाडाको घरमा बस्दै आएका थियौं, छोराहरुले दुःख सुख गरेर घरको जग बसाएका थिए, ढलान गरेको घरमा छोराहरुसँगै बस्ने रहर थियो, त्यो पुरा हुन सकेन ।’
अस्मित र अश्विन देवदह-७ मदनग्राममा बहालमा बस्दै आएका थिए । आफ्नै घर बनाउने योजनासहित उनीहरूले जग र पिल्लर उठाएर राखिसकेका थिए । घर पूरा गर्ने सपना पूरा हुन नपाउँदै दुवै छोरा बेपत्ता भएपछि अहिले त्यही अधुरो संरचना अधिकारी परिवारको अवस्थाको प्रतीक बनेको छ ।
शारदाको अन्य कुनै आयस्रोत नभएको पाइएपछि स्थानीयस्तरमा घर निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ । स्थानीय युवा चन्द्रकान्त खरेल ध्रुवले अभियानमार्फत संस्थागत र व्यक्तिगत रूपमा सहयोग जुटिरहेको बताए ।
खरेलका अनुसार हालसम्म संस्थागत रूपमा ५ लाखभन्दा बढी रकम घर निर्माणका लागि संकलन भइसकेको छ । व्यक्तिगत रूपमा पनि अस्मित र अश्विनकी आमा शारदाको खातामा सहयोग संकलन भइरहेको उनले बताए ।
‘अभियानमा जोडिने संस्थाको संख्या बढ्दै गएका छन् ।’ अर्का स्थानीय युवा अर्जुन गैरेले भने, ‘सामाजिक सञ्जालबाट अभियानको रुपमा सुरुवात गरिएको थियो, छोटो समयमै दुई दर्जनभन्दा बढी संघसंस्थाले संस्थागत रुपमैं घरमा आएर सहयोग गर्नुभएको छ । जसले अभियान सञ्चालन गर्ने हामीलाई पनि हौसला प्रदान गरेको छ ।’
गैरेका अनुसार पछिल्लो पटक रोटरी क्लब अफ देवदहले घर निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलवार क्लबका पदाधिकारी तथा सदस्यहरू अस्मित र अश्विनको घरमै पुगेर आमा शारदा अधिकारीलाई ५१ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । बाढीमा परी दुई छोरा बेपत्ता भएपछि दुःखमा रहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।
यसअघि शान्ती आमा समूह देवदह-७ बाट ५१ हजार पाँच सय ६० रुपैयाँ, भृकुटी आमा समूह देवदह-७ बाट ४४ हजार ५ सय ५० रुपैयाँ, सितलनगर मगर समाजबाट ३२ हजार ४५ रुपैयाँ, सुनकौडा टोल विकास संस्थाबाट २६ हजार २ सय ३० रुपैयाँ तथा महामाया महिला सामुदायिक वनबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
त्यस्तै अखिल नेपाल महिला संघ देवदह नगर कमिटीबाट २१ हजार रुपैयाँ, प्रगति आमा समूह देवदह-७ तल्लो खैरेनीबाट २१ हजार आठ सय रुपैयाँ, देवदह धनुषबाण क्लब देवदह-६ बाट १९ हजार एक सय २० रुपैयाँ, मिलन आमा समूह देवदह-६ बाट १० हजार १ सय ५५ रुपैयाँ, पर्वत तमु समाज देवदहबाट १४ हजार १ सय १५ रुपैयाँ र स्वेच्छा मेक ओभर देवदह खैरेनीबाट ११ हजार रुपैयाँ सहयोग भएको गैरेले बताए ।
संस्थागत सहयोगको क्रम यतिमै रोकिएको छैन । लाली गुँरास आमा समूह देवदह-९ बाट १३ हजार ३ सय ३५ रुपैयाँ, दिदी बहिनी आमा समूह देवदह-९ बाट ८ हजार पाँच सय रुपैयाँ, गोठादी मार्ग टोल देवदह-५ बाट ६ हजार १ सय ५ रुपैयाँ, सक्रिय मिलन आमा समूह देवदह-८ बाट ७ हजार ६ सय पचास रुपैयाँ र जनकल्याण आमा समूह देवदह-४ बाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ ।
स्वतः स्फुर्त रुपमा संकलित यो सहयोगले घर निर्माणका लागि मात्र नभएर विपत्तिमा परेका परिवारप्रति देवदहवासीको सामूहिक संवेदनाको अभिव्यक्ति पनि दिएको छ । अस्मित र अश्विनको घर अहिले उनीहरूको परिवारको मात्र विषय नभएर अधुरो घर पूरा गर्ने अभियानमा लागेका देवदहका विभिन्न संघसंस्था र व्यक्तिहरूसँग समेत जोडिँदै गएको छ ।
बाढीले दुई छोरालाई बेपत्ता बनाएपछि शारदा अधिकारीको जीवनमा आएको रिक्तता कुनै सहयोगले पूरा गर्न सक्दैन । तर उनीहरूले सुरु गरेको घर पूरा गरिदिने प्रयासले परिवारलाई एउटा सुरक्षित आश्रय दिन सक्छ । यही उद्देश्यले देवदहका विभिन्न संघसंस्था र स्थानीयहरू आफ्नो क्षमताअनुसार सहयोगमा जोडिएका छन् ।
देवदहमा विपद्का बेला सामूहिक रूपमा सहयोग जुटाउने अभ्यास नयाँ भने होइन । यसअघि पनि विभिन्न विपद्मा यहाँका संघसंस्थाले सहयोग संकलन गरेर प्रभावित परिवार तथा समुदायलाई राहतका रूपमा वितरण गर्दै आएका छन् ।
पछिल्लो पटक राष्ट्रिय रूपमा परेको विपत्तिमा समेत देवदहका संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत लाखौं रुपैयाँ संकलन गरेर भोटेकोशी बाढी प्रभावितका लागि पठाइरहेका छन् ।
अस्मित र अश्विनको घरमा अहिले पनि जग र पिल्लर उभिएका छन् । ती पिल्लरले दुई दाजुभाइको अधुरो सपना सम्झाइरहेका छन् । उनीहरू फर्किन्छन् कि फर्किँदैनन् भन्ने प्रश्नको उत्तर अझै अनिश्चित छ । तर उनीहरूले सुरु गरेको घर भने देवदहको सामूहिक साथले पूरा गर्ने प्रयास जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology