देवदह । समाजमा शिक्षण पेशालाई सम्मानित पेशाका रूपमा हेरिन्छ । तर कक्षाकोठामा कलिला बालबालिकाको भविष्य निर्माणमा खटिएका शिक्षक स्वयं कहिलेकाहीँ अपमानको शिकार हुन सक्छन् । देवदहमा पछिल्लो समय सार्वजनिक भएको एउटा शिक्षकको काज सरुवा र हाजिरीसम्बन्धी घटनाले शिक्षकले भोग्नुपरेको यस्तै विडम्बनालाई सतहमा ल्याएको छ ।
नगर अनुदान कोटा अन्तर्गत देवदह–१० स्थित जनप्रिय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मनिषा न्यौपाने एक महिनाअघि देवदह-५ स्थित केरवानी माध्यमिक विद्यालयमा सरुवा भएपनि हाजिर गर्नबाट बञ्चित भइन् । करिव दुई महिना अघिबाट स्वास्थ्य समस्याका कारण लामो दुरीको यात्रा नगर्न चिकित्सकले सल्लाह दिएको र सोही बमोजिम देवदह नगरपालिकामा आफ्नो समस्या सहितको निवेदन दिएकी न्यौपानेलाई नगरपालिकाले काजमा केरवानी माविमा अध्यापन गर्नेगरि खटाएको थियो ।
जनप्रियमा अध्यापन गरिरहेकी शिक्षक न्यौपानेको स्वास्थ्य समस्या देखिएपछि उनको ठाउँमा केरवानीमा अध्यापनरत शिक्षक प्रतिभा ज्ञवालीलाई जनप्रियमा पठाएको नगर शिक्षा अधिकृत परशुराम ढकालले पुष्टि गरे । काजमा जनप्रियमा पुगेकी ज्ञवालीलाई विद्यालयले २०८३ साउन २६ गते हाजिर गराइरहँदा न्यौपाने काजमा सरुवा भएर आएको केरवानीले उनलाई अहिलेसम्म हाजिर गर्नबाट बञ्चित गरेको हो ।
जनप्रिय माविको हाजिरी रजिष्टर हेर्दा न्यौपानेले असार १५ सम्म सोही विद्यालयमा हाजिर गरेको देखिन्छ । त्यसपछि बर्षे विदा परेको र सो विदा लगत्तै नगरको काज सरुवासहित केरवानी मावि पुगेपनि आफुलाई त्यहाँ हाजिर गर्न नदिइएको न्यौपानेले सेतोमसीलाई बताइन् । न्यौपानेले भनिन्, 'म साउन २० को नगरको पत्रसंगै २१ गते केरवानी गएँ र प्रधानाध्यापकलाई उक्त पत्र दिएपछि ४ दिन क्लास समेत लिएकी हुँ । विद्यालयमा परिक्षा सकिएकाले केही उत्तर पुस्तिका जाँच गर्ने काम पनि गरेँ, तर लामो समय हाजिर गर्न दिइएन ।' त्यो किन गरियो भन्नेबारे आफु अनविज्ञ रहेको उनले बताइन् ।
नयाँ शैक्षिक सत्रको सुरुवातसंगै नगर शिक्षा अनुदान कोटा अन्तर्गत निमावि तहमा विज्ञान विषय अध्यापन गर्नेगरी न्यौपानेलाई जनप्रियले शिक्षकमा नियुक्त गरेको थियो । प्रधानाध्यापक गायत्री प्रसाद खरेलले भने, ‘मनिषा म्यामले नयाँ शैक्षिक सत्रको सुरुवातदेखि नै विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँको स्थानमा नगरले काजमा प्रतिभा म्यामलाई केरवानीबाट पठाएपछि उहाँलाई हामीले तत्कालै हाजिर गराएर पठनपाठन कार्यको जिम्मा लगाएका छौं ।’
यता केरवानी माविले भने स्थायी दरवन्दी सहितको शिक्षकलाई अन्य स्कुलमा सरुवा गरेर आफुहरुलाई अन्याय गरिएको जनाएको छ । विद्यालयका अध्यक्ष विरेन्द्र पाण्डेले शिक्षक सरुवाबारे आफुहरुसँग सल्लाह नै नगरी शिक्षक पठाइएको र यस विषयमा प्रअसँग समेत राम्रोसँग कुरा हुन नपाएकाले हाजिर हुन नपाएको बताए । "प्रअ अहिले शैक्षिक कार्यक्रमको सिलसिलामा डेनमार्क जानुभएको छ, उहाँसँग यस विषयमा विस्तृत कुरा हुन पाएको छैन ।" उनले भने, "सायद एकदुई दिनमा उहाँ आउनुभयो भने यस थप प्रष्ट होला ।"
व्यवहारिक हिसावले हेर्दा स्थायी दरवन्दी सहितको शिक्षकलाई अन्यत्र सारेर नगर कोटाको शिक्षक ल्याइनु नीतिगत हिसावले समेत केरवानीलाई विभेद गरिएको पाण्डेले बताए ।
शिक्षक दरवन्दी मिलानको विषयमा देवदह नगरपालिका शिक्षा शाखाका अधिकृत परशुराम ढकालले नगर शिक्षा समितिले गरेको निर्णय शाखाले कार्यान्वयन गरेको बताए । "शिक्षा शाखामा नगर शिक्षा समितिले शिक्षक न्यौपानेको स्वास्थ्य समस्याको कारणसहित आएको निवेदनमा शिक्षक मिलान गर्न काजमा पठाउनको लागि निर्णय गरेबमोजिम शाखाले त्यसलाई कार्यान्वयन गरेको हो ।" उनले भने, "विषय मिल्ने शिक्षक हेर्दा केरवानी माविमा अध्यापनरत शिक्षक प्रतिभा ज्ञवालीको गणित विषय भएको र मनिषा मेडमको विज्ञान विषय भएकाले केही समयको लागि काजमा व्यवस्थापन गरिएको हो ।" दरवन्दी व्यवस्थापन गर्दापनि केरवानीमा स्थायी दरवन्दी बढि रहेका कारण त्यहीँवाट व्यवस्थापन गरिनु स्वभाविक भएको अधिकृत ढकालको भनाइ छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ र नेपालको शिक्षा ऐन तथा शिक्षा नियमावलीको पछिल्लो संसोधनले समेत विद्यालय तहको शिक्षा सम्बन्धमा एकल निर्णयको अधिकार स्थानीय तहलाई दिएका कारण त्यसलाई व्यवस्थापन गर्न गठन भएको शिक्षा समितिले गरेको निर्णयलाई आधिकारीक मान्नुपर्ने ढकालको तर्क छ । "हामी शिक्षक व्यवस्थापनको लागि नगरको छुट्टै कार्यविधि निर्माणको अन्तिम चरणमा छौं ।" अधिकृत ढकालले भने, "देवदहमा केहि आधारभुत विद्यालयहरु मर्ज गरेसँगै शिक्षक दरवन्दी मिलान पनि छिट्टै गर्नुपर्नेछ । त्यसको लागि हामीले काम गरिरहेका छौं । अहिले उठान भएको विषय कार्यान्वयनको लागि सरोकारवाला निकायलाई निर्देशन समेत दिएका छौं ।"
तर आश्चर्य मान्नुपर्ने विषय के छ भने, केरवानीमा हालसम्म हाजिर नभएकी न्यौपानेलाई शिक्षा समितिको अर्को बैठकले केरवानीबाट जनता मावि देवदह ८ मा काजमा पठाउने निर्णय गरेको सूचना सेतोमसीलाई प्राप्त भएको छ । यस विषयमा शिक्षक न्यौपानेसँग जिज्ञासा राख्दा आफुलाई शिक्षा शाखाबाट नगरपालिकामा उपस्थित हुन निर्देशन आएपछि केहिदिनदेखि नगरपालिका जाने आउने गरेको र अन्यत्र काजमा जाने विषयमा जानकारी नभएको प्रतिकृया दिइन् ।
शिक्षक व्यवस्थापनको विषयमा एकमहिना अघिबाट गिजोलिएको यो विषय केहिदिनदेखि सामाजिक सञ्जालमा उठान भएपछि राजनीतिक रुपमा समेत यसले प्रवेश पाएको छ । नगर शिक्षा समितिले गर्ने शिक्षक दरवन्दी मिलान प्रकृया प्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य सुनिल लम्सालको सचिवालयले बिहिवार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रतिनिधि सभा सदस्यको लेटरहेड प्रयोग गरेपनि ज्ञापन पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षक भएको उल्लेख छ । दुई पृष्ठको उक्त ज्ञापनपत्र सांसदको सचिवालयले बुझाएको हो या रास्वपाले भन्ने प्रश्नमा सांसद लम्सालका सचिवालय प्रमुख मोहनविक्रम जिसीले सांसदकै सचिवालयबाट ध्यानाकर्षण गराइएको बताए ।
सांसद लम्सालको सचिवालय संयोजक जिसीद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा दरवन्दी मिलानको नाममा केरवानी र जनप्रियको पछिल्लो विषयमा ध्यानआकर्षण भएको जनाइएको छ । जिल्ला शिक्षा समन्वय इकाइ, रुपन्देहीलाई समेत बोधार्थ उल्लेख गरिएको ज्ञापन पत्रमा विभिन्न ५ वटा विषयमा नगरको ध्यानआकर्षण गराइएको छ । ज्ञापनपत्रमा शिक्षक दरवन्दी मिलानजस्तो संवेदनशिल विषयले विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको पठनपाठन तथा शिक्षकहरुको पेशागत भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसमा कुनैपनि प्रकारको राजनीतिक, व्यक्तिगत वा अन्य स्वार्थबाट प्रभावित निर्णय हुनु उचित नहुने ठहर गरिएको छ ।
आगामी दिनमा शिक्षक दरवन्दी मिलान वा व्यवस्थापन सम्बन्धमा निर्णय गर्दा सम्बन्धित विद्यालय, शिक्षक तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरि स्पष्ट मापदण्ड र पारदर्शी प्रकृयाका आधारमा मात्र निर्णय गर्न ज्ञापन पत्र मार्फत सुझाव दिइएको छ ।
यसरी हेर्दा, देवदहमा शिक्षक दरबन्दी मिलान, सरुवा तथा काज व्यवस्थापनका अघिल्ला निर्णयहरुमा पनि प्रश्नहरु नउठेका होइनन् । राजनीतिक शक्तिको आडमा सरुवा हुने गरेको आरोप पनि लाग्ने नगरेको होईन । समग्र नगरको शैक्षिक गुणस्तरसँग प्रत्यक्ष सरोकार राख्ने यी र यस्ता निर्णयहरुमा अष्पष्टता र सरोकारवालाहरु विच नै समन्वयको अभाव देखिदा यो विषय फेरी सतहमा आएको छ ।
शिक्षा हेर्ने नगर स्तरीय समितिबाट निर्णय भई काजमा विद्यालय परिवर्तन गरिएकी एक शिक्षक लामो समयसम्म नयाँ विद्यालयमा हाजिर हुन नपाउनु र उक्त निर्णय कमजोर हुनु आफैमा सामान्य विषय होइन । अझ त्यो विषयलाई गम्भिरतापूर्वक नलिएर शिक्षा समितिले पुनः अर्को विद्यालयमा काज पठाउने निर्णय हुनुबाट प्रक्रिया आफैं अन्योलपूर्ण बनेको देखाउँछ ।
नगरपालिकाले निर्णय कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार भएको दाबी गरे पनि सम्बन्धित विद्यालय र शिक्षकसँग पर्याप्त संवाद नभएको गुनासोले प्रश्न उठाएको छ । त्यसैले आगामी दिनमा शिक्षक व्यवस्थापन गर्दा स्पष्ट आधार, पारदर्शी निर्णय प्रक्रिया र सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology