वि.सं २०३९ असार ९ गते बुवा टोपराज प्रसाद थारु र आमा सोनी थारुको कोखबाट बैजन्ती कुमारी थारुको जन्म भयो । हाल देवदह नगरपालिका वडा नं ११ मा पर्ने साविक सिक्टहन गाविसमा जन्मिएकी उनी ४ छोरी र १ छोरा मध्ये काईँली हुन् । शारीरिक रुपमा अशक्त बैजन्ती सामान्य मानिस जस्तो डिँडडुल गर्न सक्दिनन् । दुवै हातहरु सकुसल भएपनि उनको दाहिने खुट्टा चल्दैन ।
ग्रामीण किसान परिवारमा जन्मिएकी बैजन्तीका बुवाआमा खेतीपाती गर्थे । जसबाट उनीहरुको परिवारको गुजारा चल्ने गर्थ्यो । २ बर्षको उमेरमा बैजन्तीमा पोलियोको समस्या देखियो । उनको दाहिने खुट्टा क्रमशः कमजोर र लुलिदै गयो जसका कारण परिवार चिन्तित बन्यो । विद्यालय पढ्न पठाउने उमेरसम्म उनी अन्य व्यक्तिको सहारा बिना हिड्न नसक्ने भईन् । परिवारमा एउटा सदस्य शारीरिक रुपमा अशक्त भएपछि बुवा आमालाई समेत काम गर्न गाह्रो हुन थाल्यो ।
बैजन्ती घरमा बस्दा उनका ३ दिदीहरु विद्यालय जाने गर्थे । केहि समयपछि उनका भाइसमेत विद्यालय जान थाले । तर उनी अध्ययनबाट बञ्चित रहिन् । आफुभन्दा ठुला दिदीहरु र सानो भाई झोला बोकेर विद्यालय जाँदा उनको मन कटक्क खान्थ्यो । किनकी उनी शारीरिक अशक्तताको कारण घरमै बस्न बाध्य थिइन् । उनी भन्छिन्, ‘विद्यालय जाने आउने क्रममा आफ्नो उमेरका सबै हाँस्दै खेल्दै बाटोमा हिँड्थे तर म भने निराश भएर घरमै बस्न बाध्य हुन्थे ।’
औपचारिक शिक्षाको रुपमा बैजन्तीले कुनै कक्षा पास गरेकी छै्नन् । गाउँमा विभिन्न समयमा पढाइने प्रौढ कक्षामा भने उनी सहभागी भएकी छन् । जसले उनलाई सामान्य अक्षर चिनाउनको लागि मद्धत गरेको हो । गाउँमा उमेर ढल्केका तर विद्यालय नजानेहरुलाई पढाउनको लागि प्रौढ शिक्षा संचालन भएको थियो । कम उमेरकै भएपनि उनले शारीरिक अशक्तता भएपछि प्रौढ शिक्षालाई उपयोग गर्नुपर्छ भन्ने सोचिन् र मन लगाएर पढिन् ।
त्यसो त बैजन्तीले आफु ठुली भएपछि पनि विद्यालय जाने प्रस्ताव घरमा नगरेकी होइनन् । ‘स्कुल जाने मन ठुली हुँदासम्मै थियो । मेरो विद्यालयमा नाम लेखाइदिनुहोस्, बरु म घरमै बसेर पढ्छु भनेर धेरैपटक भनेँ तर बुवा-आमाले मान्नुभएन ।’ उनले भनिन् ‘अहिले प्रौढ शिक्षाको भरमा सामान्य अक्षर चिन्न, हस्ताक्षर गर्न र लेख्न त आउँछ, तर प्रश्नहरुको उत्तर दिँदा आज पनि डर लाग्छ र आँफुले नजानेजस्तै हुन्छ ।’
बैजन्तीले धेरै नपढेपनि आफुलाई आवश्यक हिसाव किताव राख्न सक्छिन् । उनले वि.सं. २०७२ सालदेखि कस्मेटिक पसल समेत संचालन गर्दै आएकी छन् । ‘बैजन्ती कस्मेटिक पसल’ नामको व्यवसाय सुरु गर्नेबेला उनीसँग पैसा थिएन । तर बैजन्तीसँग पसल खोल्ने इच्छा र चाहना भने धेरै थियो । ‘मसँग चाडपर्व र विभिन्न समयमा आफन्तले ५०-१०० गर्दै दिएर जम्मा गरेको २५ हजार रुपैंया थियो । बुवाले ५ हजार रुपैंया दिनुभयो, गाउँको एकजना भाइले थप ५ हजार रुपैंया सहयोग गरे । र्याक बनाउनको लागि ५० हजार रुपैंया लाग्ने मिस्त्रीले बताएकाले मैले त्यहि अनुसार पसलको तयारी गरेँ ।'
सुरुमा भिनाजुले काम गर्दै गर म पैसा व्यवस्था गरिदिउँदा भनेका कारण आफुले पसल सुरु गरेपनि सामान राख्न तत्काल पैसा नभएपछि मामाको छोरासँग ३० हजार रुपैंया सापट लिएर काम सुरु गरेको उनले बताइन् । ‘पछि भिनाजुले ५० हजार रुपैंया दिनुभयो । त्यो पैसा मध्ये ३० हजार रुपैंया सापटी फिर्ता दिएर २० हजारले पसलमा थप सामान किनेँ’ उनले भनिन् ।
परिवारको गुजारा चलाउनको लागि बैजन्तीले सुरु गरेको पसल राम्रै चल्न थाल्यो । दैनिक रुपमा ४-५ हजारको व्यापार पनि हुन थाल्यो । उनीसँग एउटा सिलाई मेसिम समेत रहेकाले त्यसबाट वरपरका छिमेकीको सामान्य कपडाहरु सिउँदा थप केहि रकम पनि उनलाई आम्दानी स्वरुप आउने भयो ।
‘सुरुमा पसलमा सामान दिन यताउता गर्न त मलाई सारै गाह्रो हुन्थ्यो । त्यसो त अहिले पनि सहज त छैन । बिहान सटर खोल्ने बेलामा छिमेकी या बाटोमा हिड्नेलाई गुहार्नुपर्ने बाध्यता छ ।' उनले भनिन्, 'खेती किसानीमा आश्रित परिवारको भविष्य चलाउनका लागि पनि मसंग अरु कुनै विकल्प थिएन ।’ बुवा आमालाई विस्तारै बुढ्यौलीले पच्छुयाउँदै गएपछि, उनले परिवारको जिम्मेवारी समेत आफ्नो काँधमा लिँदै व्यवसाय सुरुवात गरेको बताइन् । ‘पसल सुरु गर्नेबेला त बुवाआमा खेतमा काम गर्न सक्दै हुनुहुन्थ्यो । अहिले उहाँहरु ७० काटिसक्नुभयो, काम गर्नपनि सक्नुहुन्न ।’
घरमा आम्दानीको उपयुक्त माध्ययम नभएपछि बैजन्तीका भाई बैदेशिक रोजगारीको लागि साउदी अरव गएका थिए । साउदीमा करिव ३ बर्ष बसेर फर्किएका उनका भाई समेत घर निर्माण गर्दैगर्दा सटरिङ्ग खोल्ने क्रममा स्टरिङ्गको फलामले लागेर घाइते भए । टाउकोमा गम्भिर चोट लागेर घाईते भएपछि उनको उपचारमा समेत पैसा खर्च भयो । अहिले भाइको निधारमा समेत स्टील राखिएको छ । उनी भन्छिन्, ‘भाईपनि घाइते भएर उपचार पछि निको त भएको छ तर टाउकोमा गम्भिर चोट लागेका कारण पहिले जस्तो काम गर्न सक्दैन ।’
बैजन्तीले केहि समय अघिसम्म राज्यले दिएको अशक्त (अपाङ्ग) भक्ता समेत पाउने गर्थिन । हिम्मतिलि उनी हातको सहाराले हिँडेर अस्पताल गएका बेला डाक्टरले उनको समस्या कम भएको भन्ठानेर ख बर्गको परिचयपत्रलाई ग मा झारिदिए । जसका कारण उनले अहिले राज्यले दिने सुविधा समेत पाउन सकेकी छैनन् । ‘पहिले अस्पताल जाँदा सायद डाक्टरले ठिक भयो भन्ने ठान्नुभएर होला, मलाइ ख बाट ग मा सिफारिस गर्नुभयो, तर अहिले उहाँले भन्नुभएको छ यो पटक ख मै राखिदिन्छु ।’
हिँडडुल गर्न नसकेपनि बैजन्तीले एउटा स्कुटर किनेकी छन् । पसल खोलेपछि सामान लिनको लागि भैरहवा जान कठिन र महंगो भएकाले ९ बर्ष पहिले उनले स्कुटर किनेकी हुन् । हरेक खर्चको मसिनो गरि हिसाव राख्ने उनी अटोमा भैरहवा जाँदा लागेको खर्च भन्दा आफुले स्कुटर किनेर तेल राख्न सस्तो हुने ठानेर स्कुटर खरिद गरेको बताउँछिन् ।
स्कुटर खरिद गर्नुभन्दा ३ बर्ष अघि व्यापार सुरु गरेको बताउने बैजन्तीले नियमीत रुपमा बचत गर्ने गरेकी छन् । ‘मासिक रुपमा नियमित गरिने बचतले आवश्यक पर्दा निकै सहयोग पुग्ने रहेछ ।’ आफु्ले बचत गरेको कोष र थप ऋण समेतको एक लाख ६५ हजार रुपैंया निकालेर भारतको सुनौलीबाट चार पाङ्ग्रे स्कुटर खरिद गरेको उनले बताइन् । स्कुटर तर्फ देखाउँदै उनले भनिन्, ‘यस्तै स्कुटर नेपालमा खरिद गर्दा २ लाख पचास हजार भन्दा बढि पर्ने रहेछ । तर अशक्तहरुको लागि अपाङ्ग महासंघको सिफारिसमा भारतबाट खरिद गरेको स्कुटर छुट सहित भन्सार गरेर नेपाल ल्याउन सकिने व्यवस्थाले गर्दा केहि सस्तो पर्न गयो ।’
बैजन्ती स्कुटर चलाएर बुटवल भैरहवासम्म पुग्न सक्छिन्, तर कतिपय अवस्थामा स्कुटर स्टार्ट नहुने र किक मार्फत स्टार्ट गर्नुपर्ने भएकाले उनी प्राय एकजना सहयोगी संगै लिएर हिँड्ने गर्छिन् । स्कुटर खरिद गरेपछि उनलाई पसलको कामसंगै अन्य काममा समेत सहज भएको छ । उनी परासी तथा आसपासका स्थानमा भएका आफन्तहरुलाई भेट्न पनि स्कुटरमै पुग्ने गर्छिन् ।
सामाजिक कामहरुमा समेत बैजन्तीको लगाव छ । देवदहको वडा नं ७ मा कार्यालय रहेको अपाङ्ग सेवा समाज देवदह नामक संस्थाकी उनी सदस्य हुन् । जसले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्ने गर्छ । ‘आफु शारीरिक रुपमा अशक्त भएको कारण होला म जस्ता र म भन्दा अझ अशक्त कोहि देख्यो भने उनीहरुलाई उत्प्रेरणा र सहयोग गर्न मन लाग्छ ।’ आर्थिक रुपमा सहयोग गर्ने आफुसँग त्यस्तो श्रोत नभएपनि संघ संस्थामा रहेर विभिन्न दाताहरु मार्फत अपाङ्गता भएकाहरुलाई सहयोग र राहत उपलब्ध गराउने गरेको उनी बताउँछिन् ।
त्यसबाहेक उनी देवदह नगरपालिका स्थित अपाङ्गता परिचयपत्र वितरण समितिमा समेत सदस्यको रुपमा रहेकी छन् । जसले देवदहका अपाङ्गता भएकाहरुको तथ्याङ्क संकलन गर्नेदेखि उनीहरुलाई परिचयपत्र दिने र विभिन्न समयमा सहयोग र राहतका कामहरु गर्नेगर्छ । नगरपालिकामा रहेको उक्त संस्थाको बैठकमा उनी नियमित रुपमा सहभागी हुने गर्छिन् ।
बैजन्तीलाई देशका अधिकांश ठाउँमा रहेका सेवा प्रदायक कार्यालयहरु अपाङ्ग मैत्री नभएको महशुस हुन्छ । ‘कार्यालयहरुमा कुनै काम परेर गयो भने एक तल्ला पार गर्नै कठिन, पुगेपछि समेत अर्को तल्लामा जानको लागि ५÷७ मिनट थकाई मार्नुपर्ने हुन्छ । राज्यले पछिल्लो क्रममा निर्माण गरेका भवनहरु त अपाङ्गमैत्री नै बनाएको छ भन्ने सुनिन्छ तर अधिकांस पुराना भवनहरुमा आउजाउ गर्न अपाङ्गता भएकाहरुलाई निकै सकस हुनेगरेको छ ।’
आजभोली बैजन्तीको पसलमा पनि पहिलेजस्तो व्यापार हुन छाडेको छ । लकडाउन पछि कमजोर बनेको बजारको अवस्था अहिलेसम्म पनि सुध्रिन नसकेको उनको बुझाई छ । पसलमा पहिलेजस्तो व्यापार छैन, तर परिवारमा सदस्यहरु भने थपिएका छन् । भाईको बिहे गरेर बुहारी तथा भाईकी स्कुल जाने उमेरकी भदैनी समेत गरी अहिले बैजयन्तीको परिवारमा ६ जना रहेका छन् । बैजन्तीले आफ्नो बिहेबारे अहिलेसम्म सोचेकी छैनन् । उनी भन्छिन्, ‘मलाई मेरै खुट्टा सम्हाल्न गाह«ो छ, बिहेपछि बालबच्चा होलान्, तिनलाई मैले कसरी सम्हाल्नु ?’ घरको खर्च चलाउनको लागि उनीहरुसँग डेढ बिघा जग्गा छ । उक्त जग्गामा सिजन अनुसार धान र गहुँ खेती लगाइन्छ । जसबाट दुःख सुःख परिवारको दैनिकी चलिरहेको छ ।
शारीरिक अपाङ्गता, र शिक्षाबाट वञ्चित हुनुपरेको अवस्थाका बाबजुद बैजन्ती कुमारी थारुले हार भने मानेकी छैनन् । औपचारिक शिक्षा प्राप्त गर्न नसके पनि उनले आत्मविश्वास, मेहनत र उद्यमशीलताको बलमा ‘बैजन्ती कस्मेटिक पसल’ सञ्चालन गर्दै परिवारको मुख्य जिम्मेवारी सम्हालेकी छन् । बचत, लगनशीलता र आत्मनिर्भरताको उदाहरण बनेकी बैजन्तीले आफ्नो व्यक्तिगत संघर्षलाई समाजसेवामा समेत रूपान्तरण गरेकी छन् । अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि क्रियाशिल उनी अशक्तताका बाबजुत जीविकोपार्जन गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology