काठमाडौं । ‘काँटे’, ‘काबिल’, ‘सुटआउट एट लोखण्डवाला’ र ‘मुम्बई सागा’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका भारतीय निर्देशक सञ्जय गुप्ताको निधन भएको छ । ५७ वर्षीय गुप्ताको मुम्बईस्थित आफ्नै निवासमा लडेर टाउकोमा चोट लागेपछि निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी अक्टोबर ३० मा आफ्नो घरको भान्छामा लडेका थिए । तर उनको निधनको खबर शनिबार बिहान सार्वजनिक भएको हो । उनका निकट मित्र तथा चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएका छन् ।
गुप्ताका साथी हनिफ चुनावालाले पनि भान्छामा लडेर टाउकोमा लागेको चोटका कारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरीले मुम्बईस्थित उनको वर्सोवा निवासमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा फरेन्सिक जाँचसमेत भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
निर्देशकको निधनपछि अभिनेता सञ्जय दत्तले भावुक सन्देश सार्वजनिक गरेका छन्। उनले गुप्तालाई आफ्नो परिवारको सदस्य र नजिकको साथी भन्दै उनीसँग बिताएका समय र सम्झनाहरू सधैँ याद रहने बताएका छन् ।
सञ्जय गुप्ता र सञ्जय दत्तको जोडीले बलिउडमा थुप्रै चर्चित चलचित्र दिएका थिए । उनीहरूले पहिलोपटक सन् १९९४ मा ‘आतिश : फिल द फायर’ मा सँगै काम गरेका थिए । त्यसपछि ‘खौफ’, ‘जंग’, ‘काँटे’, ‘मुसाफिर’ र ‘जिन्दा’ लगायतका चलचित्रमा सहकार्य गरेका थिए । विशेषगरी ‘काँटे’ र ‘सुटआउट एट लोखण्डवाला’ उनका चर्चित चलचित्र हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology