काठमाडौँ । देशभर हाल मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहँदा अधिकांश स्थानमा बदली र कतिपय स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि पहाडी भू-भागमा बदली छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णालीको एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । केही पहाडी क्षेत्रमा भने भारी वर्षा समेत हुन सक्ने चेतावनी महाशाखाले दिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।
महाशाखाले आगामी २४ घण्टा भित्र सम्भावित वर्षाले भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ । तराई तथा शहरी क्षेत्रमा डुबानको खतरा रहन सक्ने, साना र ठूला नदी-नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन भनिएको छ ।
वर्षाको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक र हवाई यातायातमा समेत पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता र पूर्व तयारी गर्न सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology