देवदह । रुपन्देहीका केही सहकारीमा देखिएको अनियमितता र बेथिति विरुद्ध सहकारी केन्द्र नेपाल रुपन्देहीले गम्भिर चिन्ता व्यक्त गरेको छ । जिल्लामा केहि समयदेखि विभिन्न सहकारीमा देखिएको वित्तिय अनियमितता, आन्तरिक व्यवस्थापनको कमजोरी र वचत दुरुपयोग प्रति ध्यानआकर्षण भएको केन्द्रले जनाएको हो ।
केन्द्रका जिल्ला अध्यक्ष मोतिलाल ढकालले एक विज्ञप्ती जारी गर्दै केही सहकारीहरुमा अध्यक्ष, व्यवस्थापक वा पदाधिकारीहरुले नियम विपरीत ढंगबाट सदस्यहरुको वचत तथा ऋणकोषको हिनामिना गरिरहेको, साथै पारदर्शिताको कमि र उत्तरदायित्वको अभाव स्पष्ट देखिएको जनाएका छन् । यस्ता किसिमका बेथिति र दुरुपयोगबाट विशेषतः वृद्ध शेयरसदस्य, असाक्षर व्यक्ति तथा ग्रामिण वर्गका सेयर सदस्यहरु प्रभावित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शेयर सदस्यले जिवनभर खाई नखाई गरेको वचत रकम संकटमा परेका खवर सञ्चार माध्यम मार्फत बाहिरिएका घटनाहरु प्रति केन्द्रले दुःख व्यक्त गरेको छ । सहकारी अभियान शाझा विश्वासको अभियान भएको भन्दै यस्तो अपचलनको प्रश्न सम्पूर्ण सहकारीहरुमाथि आउने भएकाले सरकार, स्थानीय तह, जिल्ला सहकारी संघ र नियामक निकायलाई यसप्रति सजग रहन केन्द्रले आग्रह गरेको छ ।
अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तीमा सहकारी अभियानलाई प्रदुषित पार्ने दोषी सहकारीका पदाधिकारीहरु तथा कर्मचारीहरुको छानविन, प्रभावित शेयर सदस्यरुको वचत रकमको शुरक्षाको प्रत्याभुति दिलाउन सम्पूर्ण सहकारी संस्थाहरुमा नियमित लेखापरिक्षण, मुल्याङ्कन र अनुगमन प्रणालीलाई कडाईका साथ लागू गर्न सरोकारवाला निकायसँग माग गरिएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology