काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रले पनि नेपालको मौसमलाई प्रभावित गरिरहेको मौसम पूर्वानुमान महाशाखाको जानकारी छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मौसममा व्यापक बदली र वर्षा देखिएको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ । अधिकांश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा हावाहुरी चल्न सक्ने देखिएको छ ।
आगामी २४ घण्टाको मौसमले जोखिम निम्त्याउने महाशाखाको चेतावनी छ । संभावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा देखिएको छ । ठूला तथा साना नदी, नाला र खोलाहरूको जलस्तर वृद्धि हुने सम्भावना छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology