काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमको उर्जा र जोश देखेर आफुहरुको जागर बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै बामदेव गौतमसँग फेरी सहकार्य शुरु भएको, बामदेवको ७७ बर्षको जोश देखेर आफुहरु पनि प्रफुल्लित भएको र जागर बढेर गएको बताए ।
अध्यक्ष नेपालले यो एकताले देशमा ठुलो जिज्ञासा र उत्सुकता प्रदान गरेको बताउदै आएका चुनौतीलाई सहि विचारले सामना गर्नुपर्ने बताए ।
बामदेवको आगमनले एकीकृत समाजवादीको शक्ति बढ्ने र देशभरका कार्यकर्तामा नयाँ उत्साह आएको नेपालले बताए ।
नेपालले राष्ट्रिय एकता अभियानका अन्य असन्तुष्ट रहेकाहरुसँग पनि छलफल भइरहेको र छिटै एकताबद्ध गरिने बताए ।
आफुहरुले सम्भव हुनेसँग एकता गर्दै र सम्भव नभएकासँग मोर्चा बनाएर अगाडी बढिरहेको नेपालले बताए । अहिले समाजवादी मोर्चा कायम रहेको र नियमित गतिबिधि गरिरहेको बताए ।
उनले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउदै एमालेभित्रको अवस्था आफुहरुले हेरिरहेको बताए ।
आन्दोलनको नेता हुँ, मलाई पद होईन काम दिनुहोला : बामदेव गौतम
एकता अभियानलाई सम्बोधन आफु आन्दोलनको नेता भएको बताउदै आफुले नेतृत्व गरेका आन्दोलन अहिलेसम्म असफल नभएको दाबि गरेका हुन् ।
उनले आफु एकीकृत समाजवादीमा आएपछि पार्टीले ठुलो शक्ति आर्जन गर्ने दाबी गर्दै पार्टीको सदस्य कैयौं गुणा बढाउने बताए ।
नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई चार वर्ष लागेको बताउदै आफुले भने जसरी एकता हुन लागेको बताए । उनले पार्टीमा काम गर्ने जिम्मा चाहिएको भन्दै पार्टीमा आफुलाई कुनै पद नचाहिने बताए ।
नीतिगत एकता हुनुपर्छ, स्वार्थको एकता भएकाले नेकपा टिकेन : झलनाथ खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीमा दक्षिण पन्थी हावी भएका कारण एक हुन नसकेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले बामदेव गौतमसँगको एकता ऐतिहासिक भएको भन्दै पार्टी एक भएर अगाडी बढ्नुपर्ने विचार राखे ।
खनालले देश अहिले संकटमा भएको भन्दै सरकार भ्रष्टाचारमा रुमलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कम्युनिष्ट पार्टी एकताबद्ध भएर गएको भए अहिलेको देशको संकट आउने अवस्था नै नआउने दाबि गरेका छन् ।
अब समाजवादतर्फ उन्मुख हुनुपर्ने बताउदै संबिधानलाई समेत संशोधन गरेर अगाडी जानुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीहरु एक भएमा अहिले पनि देशमा बामपन्थी सरकार बन्न सक्ने भन्दै आपसी दम्भले गर्दा बामपन्थी विभाजित भएको र दक्षिण पन्थी हावी भएको बताए ।
उनले यस अघि एमाले र माओवादीबीचको एकता स्वार्थको एकता भएका कारण टिक्न नसकेको भन्दै नीतिगत एकता हुनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology