देवदह । देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधार आवश्यक रहेको बताएका छन् । सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहेकाले पनि यसको सुधार आवश्यक रहेको उनले बताए ।
युगज्योति मा वि देवदह-६ को नवनिर्मित २ कोठे भवनको बुधवार उद्घाटन गर्दै नगरप्रमुख खरेलले शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थी विचको समन्वय र सहकार्यले मात्र सामुदायिक विद्यालयको हैसियत सुधार हुन सक्ने औंल्याए । उनले भने, ‘शिक्षक र व्यवस्थापन समितिका सदस्यले आफ्ना बालबालिका निजि बिद्यालयमा छोडेर आफु सामुदायिकको वकालत गरेको सुहाउँदैन । त्यसैले आफुले पढाएको विद्यालय प्रति शिक्षक ढुक्क हुनुपर्यो र आफुनो नेतृत्व प्रति समितिका अध्यक्ष र पदाधिकारीहरुपनि विश्वस्त हुनुपर्यो ।’
राज्यले कक्षा १२ सम्मको शिक्षालाई बिद्यालय तह नै मानेको हुँदा एस इ इ उत्तीर्ण भएपछी बिद्यालय परिवर्तन गर्न आवश्यक नरहेको बताउँदै उनले एसईई उत्तिर्णपछि कक्षा ११ र १२ को लागि समेत देवदहका विद्यालयले आफुलाई अव्वल सावित गर्नुपर्ने उल्लेख गरे ।
शिक्षा क्षेत्रमा समय व्यवस्थापन महत्वपूर्ण हुने जनाउँदै प्रमुख खरेलले विद्यालयमा समय व्यवस्थापन महत्वपूर्ण हुने बताए । विद्यालयमा हुने हरेक कार्यक्रम निर्धारित समयमै हुनुपर्ने भन्दै उनले समय व्यवस्थापनले मानिसलाई जिम्मेवार बन्न प्रेरित गर्ने जिकिर गरे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले युगज्योतिका कतिपय गतिविधिहरु अन्य शैक्षिक संस्थाहरुले समेत सिको गर्न योग्य रहेको उल्लेख गरिन् । व्यवस्थापन समिति चयन गर्दा निर्वाचन हुन नदिने र विद्यालयका कुनैपनि कार्यक्रमहरुमा दलगत राजनीतिलाई निषेध गर्न सक्षम युगज्योतिको पक्ष सकारात्मक भएको बताइन् । उनले खरको छानोबाट सुरुवात भई ४० वर्षमा एक अव्वल विद्यालयको रुपमा स्थापित भएकोमा युगज्योतिका सबै अग्रज हरुप्रती स्मरण र सम्मान व्यक्त गरिन् ।
विद्यालयको वर्तमान टिम जुझारु र शिक्षाप्रति चिन्तनशिल रहेको हुँदा विद्यालयले उचाइ हासिल गर्न सफल भएको उल्लेख गर्दै उनले भौतिक संरचना मजवुद भएपछि सम्पूर्ण विद्यालय टिम शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताइन् ।
उक्त अवसरमा वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा, सल्लाहकार समितिका सदस्य बासुदेव रिमाल लगाएतले बोल्दै विद्यालय मर्ज गर्नुपर्ने परिस्थितिमा युगज्योतिले एकता भावका साथ काम गरिरहेकोमा खुसि व्यक्त गरे ।
कार्यक्रममा प्रअ यमलाल अर्यालले विद्यालयको पछिल्लो अवस्था बारे जानकारी गराउँदै लुम्बिनी प्रदेश सरकारबाट विनियोजित ३५ लाख रुपैैया बजेटबाट २ कोठे भवन निर्माण सम्पन्न भएको बताए । निर्माण सम्पन्न कोठामा फर्निचरजन्य सामग्रिको लागि नगरपालिकाको सहयोग आवश्यक रहेको भन्दै उनले नगरप्रमुख र उपप्रमुखको ध्यानआकर्षण गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका कुमारी अर्यालको अध्यक्षता, सहायक प्रअ हरिप्रसाद भण्डारीको स्वागत र शिक्षक शिला मल्लको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology