काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपाले संसदको दुरुपयोग गरेको बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने गरेको उल्लेख गर्दै अब यसलाई बन्द गरिनुपर्ने बताएका छन् ।
उनले भनेका छन्- 'रास्वपा र राप्रपाले ७० दिन देखि संसद बहिष्कार गर्दै आएका छन् । यसले संसदको, सरकारको र जनताको ध्यानाकर्षण भएको छ । यो अभ्यास बन्द भएको छैन । यो कति समयसम्म चल्ने हो । संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने को हुनुहुन्छ । यो के भन्न खोजेको हो ।'
प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । उनले भनेका छन्- 'गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको छ, यो बन्द हुनु पर्छ, कांग्रेसको यसमा गम्भीर आपत्ति छ । यो प्रथालाई अब अन्त्य गरिएन भने संसदको गरिमा पनि रहदैन महत्व पनि रहदैन ।'
साथै उनले भोलि यसको प्रतिवादमा उत्रिने चेतावनी दिदै त्यस अवस्थामा संसदको गरिमा कस्तो होला भन्दै प्रश्न गरेका छन् । उनले भने- 'लामो समयदेखि यो निरन्तर अभ्यासको रुपमा जारी रहेको छ, भोली सम्पूर्ण सांसद प्रतिवादमा उभिनु पर्ने हुनसक्छ । यसको प्रतिवादमा उत्रिन थालियो भने संसदको दशा के हुन्छ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology