काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को आन्दोलनलाई विश्वभर सत्ता परिवर्तनको नेपाली भर्सन भएको टिप्पणी गरेका छन् ।
शुक्रबार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बादलले फागुन २१ को निर्वाचन परिणाम भदौ २३ र २४ का घटनाको बाई प्रडक्ट भएको भन्दै भदौ २३ र २४ को आन्दोलन विश्वभर सत्ता परिवर्तनको सुनियोजित नेपाली भर्सन भएको टिप्पणी गरेका हुन् ।
संसदमा बोल्दै नेता बादलले संसदको चालु अधिवेशनमा सबै विधेयक एकतर्फी रुपमा पारित गरेको भन्दै विधि निर्माणमा रास्वपाले आफ्नो एकाधिकार ठानेको आरोप लगाए ।
उनले भने- '६ महिनामा प्रतिनिधि सभा सरकारको प्रति छाया मात्र बन्यो । हामीले ६ महिना सत्ता पक्षको ढ्याप ढ्याप सुन्यौं, विपक्षीको आक्रोश देख्यौं, र पछिल्लो समय सत्ता पक्षमा आशाको किरण देखिएको छ, सभामुखले प्रधानमन्त्रीमाथि रुलिङ गर्ने कोसिस गर्नु भएको छ, सत्ता पक्षका कतिपय सांसदहरुले सरकारको हुकुमी शासन शैलीप्रति प्रश्न खडा गर्नुभएको छ ।'
उनले बालेन्द्र शाहको सरकारले फासिवादी शासनको ६ महिना पुरा गरेको भन्दै पुर्ब प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेर कार्यकाल शुरु गरेर पछिल्लो पटक पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेको बताउदै सरकारको आलोचना गरे ।
नेता बादलले प्रतिनिधि सभा पुन; स्थापनाको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको उल्लेख गर्दै आफुहरुको राजनीतिक अडान अहिले पनि कायम रहेको स्पष्ट गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology