माधव ज्ञवाली ,गुल्मी । उनले करिब १० बर्ष पहिले मौरीपालन सुरु गर्दा बजार खासै थिएन । उनले १ घारबाट मौरी पाल्न सुरु गरेका थिए । केही समय पछि १ घारबाट २ बनाएछन,त्यसबाट राम्रै भएछ। घारको संख्या बढाउने मन,तर लगानी थिएन।
वि.स २०७४ सालमा स्थानीय तहहरु बने। बिस्तारै स्थानीय तहहरुले विभिन्न कार्यक्रम ल्याउन थाले । गाउँपालिकाले उनलाई १० वटा खाली घार ५०% अनुदानमा दियो,त्यसपछि उनले आफ्नो ब्यवसायलाई केही बढाउन सफल भए। उनी अर्थात गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौताराका ४२ बर्षिया जीवराज गौतम जो अहिले एक मौरीपालक ब्यवसायीका रुपमा दह्रिन थालेका छन् ।
भन्छन, ‘आफ्नो ठाँउमा भएको कुरालाई आधुनिकीकरण गर्ने हो भने नेपालमा कृषिको धेरै सम्भावना रहेछ । कृषिबाटै जीवनस्तर उकास्न सम्भव छ । गाउँपालिकाले दिएको खाली घारमा उनले केही बाहिरबाट छोपेर त केही पुरानो घारबाट बढाउँदै गए। अहिले उनिसङ्ग गाउँपालिकाले अनुदानमा दिएको १० घार र आफुसङ्ग भएको गरि जम्मा १५ वटा घार छन् ।सबै घारमा मौरी छन् ।
अनुदानका १० घारबाट सुरुमै मह काड्दा लगानी उठाएर पनि २० हजार नाफा मिलेको उनी बताउँछन् ,खाली १० घार ल्याउँदा आफ्नो १६ हजार लगानी भएको उनको भनाई छ। यसै बर्ष कार्तिकको पहिलो हप्ता मात्रै ८ वटा घारबाट मह निकाल्दा प्रतिघार ५ किलो मह काड्न सफल भएको उनको भनाई छ।मह प्रतिकिलो रु.१ हजारमा बिक्री भएको उनी बताउँछन् ।एकपटक मह काडेको २० दिनमा पुन: प्रति घार ५ किलो मह निकाल्न सफल भएको उनको भनाई छ।
भन्छन," यो सिजनमा रु.१ लाख जतिको कारोबार हुन्छ कि!" मह काड्ने उपयुक्त समय कार्तिक ,मंसिर र चैत्र रहेको उनको भनाई छ। "अरु महिनामा मह काड्न मिल्दैन, मह पनि त्यति हुदैन। मौरीलाई चर्ने ठाउंपनी त्यति हुँदैन । त्यसैले अन्य महिनामा मह काड्दा मौरी मर्ने या भाग्ने डर हुन्छ।" उनले भने।
महको माग थुप्रै आइरहने तर पुर्याउन नसकेको उनको भनाई छ। मौरी घारको संख्या बढाउन चाहेका उनलाई लगानीको खाँचो छ। भन्छन् ," बजारको अभाव छैन। घारको संख्या बढाउने मन त छ तर लगानी अल्लि धेरै लाग्ने। गाउँपालिकाले आएर अनुगमन गरेर पुन: हौसला स्वरुप अनुदान दियो भने घारको संख्या बढाउने थिएँ।" अनुदान उपलब्ध गराएपछि गाउँपालिका एकपटक पनि अनुगमन गर्न नआएको उनको गुनासो छ।
"अनुगमन गर्न आएर सुझाव ,सल्लाह अनि हौसला दिए अझै खुसी हुने थिएँ। अनुदान लिने तर परिश्रम नगर्ने थुप्रै हुन्छन् , कसले अनुदानको सदुपयोग गरेको छ कसले दुरुपयोग,यसको अनुगमन गर्नुपर्ने र जसले राम्रो गरेको छ उसलाई हौसला दिनुपर्छ।" उनी भन्छन् ।
उनको गोठमा दुईवटा भैंसी पनि छन् । गाउँपालिकाको ५०% अनुदानमा भैंसी किनेको उनले बताउँछन् । उनले दिनको १० माना दूध बेच्छन् । दूध गाउँमै बिक्री हुने उनले बताए। त्यति मात्रै हैन उनको आफ्नै घरमा किराना पसल पनि छ। पसलबाट पनि राम्रै भइरहेको उनको भनाइ छ।
उनका एक श्रीमति र २ छोराछोरी रहेका छन् । भैंसी पाल्न,पसल गर्न र मौरी पाल्न कुन सजिलो?भन्ने प्रश्नमा उनि भन्छन् ," भैंसी पाल्न र पसल गर्नभन्दा मौरी पाल्न निकै सजिलो छ। मौरीलाई खासै केही गर्न पर्दैन। बेलाबेला घार सफा गर्दिए पुग्छ।"
चरन क्षेत्र राम्रो र सफा हुनुपर्ने र मौरीलाई अरिङ्गाल र माउखानेबाट जोगाउन सके यस् ब्यवसायबाट निकै राम्रो गर्न सकिने उनको भनाई छ।आफुले मौरी पालनलाई अझै ब्यवस्थित गर्न खोजेको तर लगानीको अभावले गर्दा बढाउन नसकेको उनको भनाई छ। भन्छन् ," अनुदानको ब्यवस्था भयो भने थप व्यवसायिक ढङ्गले अघि बढ्ने हिम्मत छ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology