काठमाडौँ । डेनमार्कका परराष्ट्रमन्त्रीले कोपनहेगनस्थित अमेरिकी कार्यवाहक राजदूतलाई तिरोता बोलाएका छन् । डेनमार्कको सार्वजनिक प्रसारक डीआरले दिएको रिपोर्टअनुसार केही अमेरिकी नागरिकले ग्रिनल्यान्डमा गुप्त गतिविधि सञ्चालन गर्दै समाजभित्र प्रवेश गर्ने र डेनमार्कबाट अलग गरेर अमेरिकासँग जोड्ने प्रयास गरिरहेको दाबी गरिएको छ ।
रिपोर्टमा ती व्यक्तिहरू वास्तवमा कसका लागि काम गरिरहेका थिए भन्ने स्पष्ट नभए पनि डेनिस सुरक्षा निकायले ग्रिनल्यान्डलाई लक्षित गर्दै विभिन्न किसिमका प्रभाव अभियान भइरहेको चेतावनी दिएको छ ।
परराष्ट्रमन्त्री लार्स लोक्के रस्मुसेनले डेनमार्कको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने भन्दै अमेरिकी कार्यवाहक राजदूतलाई बोलाइएको जनाए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा पटक-पटक ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गरेका थिए । हाल उपराष्ट्रपति जे.डी. भान्सले पनि कोपनहेगनले ग्रिनल्यान्डमा पर्याप्त लगानी नगरेको आरोप लगाएका छन् । केही महिना अघि डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रिनल्यान्ड भ्रमणका क्रममा अमेरिकालाई चेतावनी दिँदै डेनमार्कलाई कब्जा गर्न नसक्ने बताएकी थिइन् ।
अहिले कोपनहेगनमा अमेरिकी राजदूत नियुक्त नभएकाले कार्यवाहक प्रमुख कूटनीतिज्ञ मार्क स्ट्रोहलाई बोलाइएको हो । यसअघि पनि गत मे महिनामा अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो गुप्तचर गतिविधि बढाएको भन्ने रिपोर्टपछि रस्मुसेनले स्ट्रोहलाई बोलाएका थिए ।
डीआरको ताजा रिपोर्टअनुसार, एक अमेरिकी व्यक्ति ग्रिनल्यान्डको राजधानी नूक पुगेका थिए र त्यहाँ अमेरिकाको पक्षमा स्वतन्त्रता चाहने व्यक्तिहरूको सूची संकलन गर्ने प्रयास गरेका थिए । त्यसपछि उनीहरूलाई अमेरिका समर्थित अलगाववादी आन्दोलनमा सहभागी गराउने उद्देश्य रहेको भनिएको छ ।
मे महिनामा वॉल स्ट्रीट जर्नलले पनि ग्रिनल्यान्डको स्वतन्त्रता आन्दोलन र खनिज उत्खननमा अमेरिकाको चासोबारे रिपोर्ट प्रकाशित गरेको थियो । त्यसबेला अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक टुल्सी गाबार्डले रिपोर्टको प्रत्यक्ष खण्डन नगरी पत्रिकामाथि कानुन तोडेको र राष्ट्रको सुरक्षा तथा लोकतन्त्रलाई कमजोर पारेको आरोप लगाएकी थिइन् ।
स्रोत: BBC
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology