काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई एक युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपक अवस्थीका अनुसार गत भदौ ५ गते हुलाकमार्फत जाहेरी दर्ता भएपछि महरमाथि अनुसन्धान सुरु भएको थियो । जाहेरी प्राप्त भएपछि जिल्ला अदालत, काठमाडौंबाट भदौ ९ गते पक्राउ अनुमति लिइएको र त्यसपछि उनी कार्यालयमा उपस्थित हुँदा नियन्त्रणमा लिइएको जनाइएको छ ।
जाहेरीमा महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । यस दफाले इन्टरनेट वा विद्युतीय माध्यममार्फत अशिष्ट, गैरकानुनी, अपमानजनक वा सामाजिक सदाचारविरुद्ध सामग्री प्रकाशन वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको छ । त्यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।
प्रहरीका अनुसार, महरले सामाजिक सञ्जालमार्फत लाइभमा गएर पीडितको चरित्र हत्या गरेको आरोप छ । यसअघि पनि उनीमाथि एउटी महिलाले बलात्कारको उजुरी दर्ता गर्न खोजेकी थिइन् । प्रारम्भमा प्रहरी उजुरी लिन तयार नभए पनि पछि पाटन उच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
यद्यपि, सोही प्रकरणमा पीडित भनिएकी युवती पनि विद्युतीय कारोबार ऐनअन्तर्गतको अभियोगमा केही समयअघि पक्राउ परेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology