काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् ।
काठमाडौंको प्रज्ञाभवन, कमलादीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले भने- 'उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।' उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने- 'यदि जनयुद्धमा हजारौं, लाखौं महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।'
प्रचण्डले जनयुद्वको सुरूवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने- 'यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।' उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।
प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको सडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । 'म यो विश्वास लिएको छु कि तपाईंहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भैरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ ।'
उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधान विरूद्व गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने- 'हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ ।'
प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्याए । उनले भने- '१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौं - जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।'
उनले समानुपातिक निर्वाचन प्रणालीलाई पनि प्रत्यक्ष बनाउन सकिने बताउँदै त्यसले महिलाहरूको सही प्रतिनिधित्व सुनिश्चित गर्ने बताए । प्रचण्डले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभइ, बिचौलियाहरूले नियन्त्रणमा लिएको बताए । प्रचण्डले अबको आन्दोलन बैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमान्दार शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology