काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन् । कारागार श्रोतका अनुसार करिब ३३ सय कैदीबन्दी फरार भएका हुन् ।
कारागारमा रहेका कुल ३८ सय कैदीबन्दी मध्ये अहिले करिब ५ सयको हाराहारीमा मात्रै त्यहाँ रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले जनाएको छ ।
त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।
भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।
त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको जनाईएको छ । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेपछि नेपाली सेना कारागार पुगेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology