काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले निकालेको पछिल्लो विवरणमा मृतकको संख्या ३४ उल्लेख गरिएको छ । मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयले जनाए अनुसार हाल देशभर विभिन्न अस्पतालमा १ हजार ३ सय ६८ जना घाइतेहरु उपचाररत छन् । जसमध्ये ३ सय २१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित जेनजी समुहले राज्यको शासकीय स्वरुप परिवर्तन र भ्रष्टाचारको विरुद्ध प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology