देवदह । देवदह सेवा समाज युएईले रुपन्देहीको देवदह–८ वनकित्ता निवासी २ बर्षिय बालिका भावना न्यौपानेलाई उपचार खर्च बापत १ लाख १११ रुपैयाँ प्रदान गरेको छ । युएईमा रहेका देवदहवासीहरुको उक्त संस्थाले ३७ जना सदस्यहरूबाट संकलन गरेको सो रकम बिहिवार परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो ।
समाजका सदस्य गीता खरेल, राधा अधिकारी, वडा नं ८ का अध्यक्ष हरि पाण्डे, देवदह खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष गुमानसिंह कुँवर लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको सल्लाहकार श्याम न्यौपानेले जानकारी दिए ।
भावनालाई जन्मिदैको अवस्थामा स्वास्थ्यमा समस्या देखिएको र उपचारमा सहयोग होस् भन्ने हेतुले सहयोग रकम उपलब्ध गराईएको संस्थाले जनाएको छ । ‘भावनालाई संसारकै दुर्लभ स्वास्थ्य समस्या देखिएको भन्ने परिवारबाट जानकारी आयो र उनलाई उपचारका लागि भारत लैजानुपर्ने परिवारले जनाएपछि हामीले समाजका सदस्यहरुसँग थोरै सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेका हौं ।’ उनले भने, ‘बालिकाको उपचारको लागि करिव ४० लाख रुपैंया खर्च हुने जानकारी आएको हुँदा त्यसको लागि समाजले थप आर्थिक सहयोगको लागि सबैसंग अपिल गर्दछौं ।’
काठमाडौं स्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत भावनालाई ARPC1B Deficiency नामक स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको छ । बालिकाकी आमा नम्रता पाण्डेले यो समस्याको समाधान बोनम्यारो ट्रान्सप्लान्ट भएको हुनाले उपचार खर्च धेरै लाग्ने र आफुहरुसँग उक्त रकम नभएको हुँदा आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । बालिकाका बाबु वैदेशिक रोजगारीको क्रममा हाल युएई रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology