काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन् ।
उनिहरूका अनुसार ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा पुनः सञ्चालन गर्न सकिने अवस्थामा छ । भदौ २३ र २४ गते आन्दोलन चर्किँदा संसद भवनको पूर्वतर्फ रहेको विभाग कार्यालयमा आगजनी भएको थियो ।
आगजनीबाट इम्बोस्ड नम्बरका सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएका १२ लाखमध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भए पनि बाँकी ६ लाख थान सुरक्षित रहेको पाइएको छ ।
शुक्रबार बिहान विभाग परिसरमा भएको सरसफाइ कार्यक्रममा मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्स डेटा रिकभर गर्न सकिने जानकारी दिएका थिए ।
यस क्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गर्ने बताएका छन् । “विदेश जानेहरूलाई तत्काल आवश्यक परेमा राष्ट्रिय परिचयपत्र विभागको मेसिन प्रयोग गरेर लाइसेन्स छाप्न सकिने व्यवस्था मिलाइनेछ,” उनले भने ।
विभागका अनुसार अझै २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ, जसका लागि तत्काल टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology