काठमाडौँ । वाइफाइ भन्ने शब्दको कुनै निश्चित पूर्ण रूप छैन, तर यसले कम्प्युटर, स्मार्टफोन वा अन्य उपकरणलाई तार बिना नै नेटवर्कमा जोड्ने सुविधा दिन्छ । आजको समयमा मोबाइल फोनको लतसँगै वाइफाइ पनि मानिसको दैनिकीमा अनिवार्यजस्तै भइसकेको छ । तर राति सुत्दा वाइफाइ वा मोबाइल इन्टरनेट अन राख्दा हाम्रो स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ ।
मस्तिष्कमा हुने आवेगहरू विद्युत रासायनिक संकेत हुन्, जसको आधारमा स्नायुहरूले सूचना आदानप्रदान गर्छन् । वाइफाइ वा मोबाइल फोन भने विद्युत चुम्बकीय तरंगमा आधारित भएकाले यसले मस्तिष्कका आवेगमा हस्तक्षेप गर्न सक्छ भन्ने तर्क गरिन्छ । तर अहिलेसम्म वैज्ञानिक अध्ययनहरूले यसलाई ठोस रूपमा प्रमाणित गर्न सकेका छैनन् । त्यसैले राति वाइफाइ अन राख्दा सीधा हानि हुन्छ भन्ने ठोस आधार हालसम्म छैन ।
यद्यपि, राति शरीरलाई पर्याप्त आराम र गहिरो निद्रा चाहिन्छ । निद्रामा अवरोध आउँदा अर्को दिन ध्यान, एकाग्रता र काम गर्ने क्षमतामा कमी आउन सक्छ । यस कारण केही विज्ञहरूले राम्रो निद्राका लागि राति वाइफाइ बन्द गर्न, वा कम्तीमा सुत्ने कोठामा राउटर नराख्न सुझाव दिएका छन् । यदि राउटर त्यहीँ राख्नुपर्छ भने पनि ओछ्यानबाट टाढा राख्नु उपयुक्त हुन्छ । मोबाइल फोन पनि तकियामुनि वा शरीर नजिक राख्नेबन्द गरेर टाढा राख्न सल्लाह दिइन्छ ।
वास्तवमा, हाम्रो घरभित्रकै अरू विद्युतीय उपकरणहरू जस्तै टेलिभिजन, फ्रिज, एसी वा अन्य सबैले विद्युत चुम्बकीय तरंग उत्सर्जन गर्छन् । त्यसैले मोबाइल वा वाइफाइ मात्र यस्तो स्रोत होइन । यद्यपि, लामो समयसम्म कुनै पनि प्रकारको विकिरणमा अत्यधिक सम्पर्क हुनु स्वास्थ्यका लागि राम्रो मानिँदैन भन्ने सामान्य धारणा छ ।
हालसम्मका अनुसन्धानहरूले वाइफाइ वा मोबाइल विकिरणले प्रत्यक्ष रूपमा स्नायु प्रणालीमा क्षति पुर्याउँछ भन्ने निष्कर्ष निकालिसकेका छैनन् । तर दीर्घकालीन असरबारे अझै अध्ययन आवश्यक छ भन्ने विज्ञहरूको भनाइ छ । विशेषगरी, यसले निद्राको गुणस्तर, मानसिक एकाग्रता, ध्यान, दीर्घकालीन रोग वा ट्युमर विकाससँग सम्बन्ध राख्छ कि भन्ने विषयमा भविष्यमा थप अनुसन्धान हुने अपेक्षा गरिएको छ ।
त्यसैले हाललाई सुरक्षित पक्ष रोज्दै वाइफाइ वा मोबाइल प्रयोगलाई सीमा भित्र राख्नु बुद्धिमानी ठहर्छ । राति प्रयोग नभएको बेला वाइफाइ बन्द गर्नु, राउटरलाई सुत्ने कोठाबाट टाढा राख्नु, मोबाइल फोनलाई ओछ्यान नजिक नराखी टेबल वा शेल्फमा राख्नु, अनि आवश्यक भन्दा बढी समय निरन्तर प्रयोग नगर्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । यसरी सावधानी अपनाउँदा सम्भावित जोखिमबाट बच्न सकिन्छ र निद्राको गुणस्तर पनि सुधार गर्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology