काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीन न्यौपानेलाई महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने एन्फाले जनाएको छ ।
एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक बनेका छन् । टोली व्यवस्थापक बिन्द्रा देवान, फिजियोथेरापिस्ट शिला गिरी र किट व्यवस्थापक बिकाश गुरुङ भने आ-आफ्नो जिम्मेवारीमा निरन्तर रहनेछन् ।
यसअघि एएफसी एसियन कप छनोटका क्रममा नियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगिता सकेसँगै पद छाडेपछि महिला टोली प्रशिक्षकविहीन भएको थियो । न्यौपानेले हालै सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली यू-२३ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
आगामी महिना नेपाली महिला टोलीले सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology