काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रयोग गर्दै आएको बनस्थलीस्थित केन्द्रीय कार्यालय खाली गर्न घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन् ।
अमेरिकामा रहेका देवकोटाले लामो समयदेखि भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै उनले तीन महिनाभित्र घर खाली गर्न पत्राचार गरेका हुन् ।
उनका अनुसार मासिक ३ लाख ५० हजार रुपैयाँमा घर भाडामा दिन सहमति भएको थियो । तर, भाडा तिर्ने विषयलाई पार्टीले गम्भीरतापूर्वक नलिएको उनले गुनासो गरे ।
रास्वपामा अनुशासन आयोग प्रमुखसमेत रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा कार्यवाहक तोकिएको थियो । उनले पार्टीसँगको संलग्नता र घर भाडा छुट्टाछुट्टै विषय भए पनि व्यवहारमा त्यसलाई छुट्याइएन भन्ने असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थापनाकालमा बसुन्धरामा रहेको पार्टी कार्यालय सानो भएको भन्दै पछि देवकोटाको बनस्थलीस्थित घरमा सारिएको थियो । रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारका रूपमा समेत नियुक्त भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology