काठमाडौँ । हमासले दुई बर्षदेखि बन्धक बनाएका सबैलाई रिहा गर्ने प्रक्रिया केहीबेरमा शुरु हुने भएको छ । गाजा सिटीमा हमासले बन्धक रिहाको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।
त्यस्तै रेडक्रसको गाडी पनि रिहा गरिने बन्धकलाई लिन गाजा सिटीमा पुगेको छ । करिब दुई घण्टाको अवधिमा हमासले सबै बन्धकलाई रिहा गर्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा सहमति जनाउदै हमासले सबै बन्धक आज रिहा गर्न लागेको हो । हाल २० जीवित रहेका भनिएका बन्धक आज रिहा हुने छन् भने उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ ।
युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे (दिउँसो ३:४५ नेपाली समय) सम्म रहेको छ । इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि जवाफी कारबाही गरेको इजरायलले गाजामा ६७ हजारभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली अधिकारीले बन्धकहरूको स्थानान्तरण यस वर्षको सुरुमा गरिएको अपरेशन जस्तै प्रक्रिया अपनाइने बताएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा बन्धकहरूलाई विशेष इजरायल रक्षा बल टोलीमा स्थानान्तरण गरिने त्यसपछि उनीहरूलाई दक्षिणी इजरायलको रेइम सैन्य अड्डामा ल्याउनेछ ।
परिवारका सदस्यहरू स्वागत बिन्दुहरूमा बन्धकहरूको प्रतीक्षामा हुनेछन् । तिनीहरू त्यसपछि हेलिकप्टरबाट अस्पतालहरूमा उनीहरूसँग यात्रा गर्नेछन् जहाँ उनीहरूले थप उपचार पाउनेछन् । त्यस्तै आकस्मिक चिकित्सा आवश्यकताको अवस्थामा, रिसेप्शन कम्पाउन्डमा नरोकी रिहा भएका बन्धकहरुलाई सिधै अस्पतालमा लगिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology