लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी पैसा कमाउने थलो मात्रै नभएर संसारलाई बौद्ध दर्शन सिकाउने थलोसमेत भएको बताएका छन् । बौद्ध शिक्षा अन्धविश्वासमा नआएको भन्दै शेरचनले सत्य, तथ्य र बैज्ञानिकरुपमा आधारित रहेको बौद्ध शिक्षाबारे आम नेपाली र विश्वभरी नै जानकारी प्रवाह गर्नु सबैको दायित्व भएको बताए ।
शनिबार बोधी टेलिभिजनले लुम्बिनीबाट प्रत्यक्ष प्रशारण सुरु गरेको एक वर्ष पुगेको अवसरमा शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा शेरचनले भने , ‘अहिलेसम्म बौद्ध दर्शन पाठ्क्रममा किन समावेश भएन ? किन ढिलाई भयो ? यसमा ठूलो विभेद छ, खतरानाक विचार छ ।’
बौद्ध दर्शनलाई पाठ्क्रममा समावेश गरी पठनपाठन गर्नुपर्नेमा जोड दिंदै शेरचनले आफ्नै मुलुकमा उत्पती भएको बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न निकै ढिलाई भएको बताए ।
बौद्ध दर्शन अध्ययन–अध्यापन गराउन आफूले धेरैपटक संसदमा कुरा उठाएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश प्रमुख हुँदा पनि यस विषयमा पहल गरेको बताए । उनले भिक्षुहरुलाई आग्रह गर्दै भने , ‘मैले तपाईंहरुलाई आग्रह गर्छु, आफूभित्र मात्रै बौद्ध शिक्षा गुम्स्याएर राख्नुभएन । यसलाई देश–विदेश फैलाएर प्रचारप्रसार गर्नुपर्छ । किन भने सरकारले आफैले दायित्व लिनुपर्ने, शिक्षा नीतिमा समावेश गर्नुपर्ने कुरा नगरेपछि अब भिक्षु्हरुमा यो दायित्व आएको छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology