माधव ज्ञवाली, गुल्मी । पछिल्लो समय जिल्लाको राजनीतिक माहोल फेरि तात्न थालेको छ। चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका संगठन विस्तार सङ्गै पार्टी प्रवेश गर्ने र गराउनेको महोत्सव नै सुरु भएको छ। जिल्लाका प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता बरालिंदा नेपाली कांग्रेसको पल्ला भारी हुने देखिएको छ ।
केही दिन पहिले रुरुक्षेत्र २ मा सिंगो बस्ती नै नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्दा रुरुक्षेत्रमा एमालेलाई धक्का लागेको थियो। पार्टी प्रवेशको असर छत्रकोट गाउँपालिकामा पनि देखिएको छ। रुरुक्षेत्रमा नेकपा एमालेलाई धक्का लाग्दा छत्रकोटमा भने माओवादी केन्द्रलाई रुरुक्षेत्रमा एमालेलाई लागेको धक्का भन्दा ठूलो धक्का लागेको छ।

छत्रकोट गाउँपालिकाका नेकपा माओवादी केन्द्रका युवा नेताहरु नै पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।माओवादी केन्द्रबाट वि.स २०७४ सालको स्थानीय चुनावमा छत्रकोट गाउँपालिका उप प्रमुख उमेदवार समेत रहेका रामप्रसाद पाण्डे , सचीव सरोज पाण्डे,कोषाध्यक्ष इन्दिरा पाण्डे सहित नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जिल्लास्तरीय नेता एवं सयौं कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन।
छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्गमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता नेकपा एमलेमा प्रवेश गरेको आकलन गरिएको छ भने खर्ज्याङ्ग र दौंघाबाट नेपाली कांग्रेसका केही नेता एवं कार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका नया कार्यकर्ताहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले टीका एवं माला लगाएर स्वागत गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology