काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताएका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खापुङ्गले हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताएका छन् ।
महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology