बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी निर्माणकालागि संघीय सरकारबाट १ अर्व लिएको छ ।प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश संरचना निर्माणको लागि सो रकम लिएको बताएका हुन् ।
यसैसाता काठमाण्डौमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासंग लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणका लागि १ अर्व बजेटको व्यवस्थाका लागि अनुरोध गरेपछि संघीय सरकार रकम दिने निष्कर्षमा पुगेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा बन्न लागेकोले हाल संघीय सरकारबाट १ अर्व बजेट संघीय सरकारले व्यवस्था गरि सकेको जानकारी गराएको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह बिश्वकर्माले बताए ।
प्रेस संयोजक विश्वकर्माका अनुसार प्रधानमन्त्री देउवाले आगामी दिनमा अझै सहयोग निरन्तर रहने प्रतिवद्धता गर्दै प्रदेश राजधानी निर्माणको लागि नीतिगत र बजेटका हिसावले तिव्र रुपमा अगाडि पढ्न सुझाएका थिए ।
संघीय सरकारले बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद दिदैं आगामी दिनमा समेत सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।
यसअघि लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि संघीय सरकारसँग ३ अर्व बजेट माग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीलेको पहलमै काठमाण्डौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट पछि संघीय सरकारले १ अर्व प्रदान गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology