अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गरेपछि जनजीवनसँग प्रत्यक्ष सम्बन्धित योजना अवरुद्ध भएको बताएका छन् ।
नेकपा एमाले अर्घाखाँचीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास र खानेपानीजस्ता जनमुखी आयोजनामा संघीय सरकारले विनियोजित बजेट रोक्दा काम अघि बढ्न नसकेको बताएका हुन् ।
“संघीय सरकारले बजेट रोक्दा शहरी विकासदेखि खानेपानीसम्मका काम रोकिएका छन्,” उनले भने, “आज विकासको गति ठप्प पारिएको छ । यस्तो निर्णयको जवाफदेहिता हुनुपर्छ ।”
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँचीमा भइरहेका योजनाहरूका बारेमा जानकारी दिँदै आगामी दिनमा उपलब्ध स्रोत र साधनको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस क्रममा उनले केही व्यक्तिहरूले सरकारी कार्यालयमा गएर धम्कीपूर्ण व्यवहार प्रदर्शन गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई आवश्यक कारबाही गर्न निर्देशन दिए । “कसैलाई पनि कर्मचारीलाई धम्क्याउने छुट छैन,कर्मचारीको मनोबल घटाउने कार्य तुरुन्त रोकिनुपर्छ ।” उनले भने ।
मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव र भाइचारा कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थालाई सहकार्य गर्न आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology