काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ ।
साथै नेपाल ट्रष्टको नाममा रहेको जग्गा बोट मोडलको निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology