देवदह । रुपन्देहीको देवदहमा रहेको पल्लवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिना श्रेष्ठ निर्वाचित भएकी छन् । शनिबार अवेर सम्पन्न मतगणनामा उनले ७ सय ९३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । अध्यक्षका अर्का प्रत्यासी कृष्ण प्रसाद गैरेले ६ सय ६६ मत प्राप्त गरेका थिए । श्रेष्ठ १ सय २७ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत डासिराम पाण्डेले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा १ सय ५७ मतान्तरसहित गोमा डुम्रे निर्वाचित भएकी छन् । डुम्रेले ७ सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी सुशीला भट्टराईले ६ सय १५ मत प्राप्त गरिन । अन्य सबै पदमा सर्वसम्मत भए पनि अध्यक्षा र उपाध्यक्षमा कुरा नमिल्दा मतदान भएको थियो ।
कुल ४ हजार ८ सय ८८ जना सेयर सदस्य रहेको भए पनि ज्यादै न्यून १ हजार ६ सय २४ जना सेयस सदस्य मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । यो कुल मतको ३३.२२ प्रतिशत हो ।
असोज ३ गते चौंथो अधिवेशन हुने क्यालेन्डर अनुसार सहकारीले सूचना जारी गरेपनि जेनजी आन्दोलनका कारण अधिवेशन सरेर कार्तिक २२ गते स्थापना दिवसको अवसर पारेर सहकारीको अधिवेशनको मिति तोकिएको थियो ।
सहकारीको सचिवमा पूर्ण प्रसाद पौडेल (पवन पौडेल), कोषाध्यक्षमा इश्वरी न्यौपाने र लेखा संयोजकमा नामदेव अर्यालसहित सबै सदस्यमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
देवदह-७ शीतलनगरमा मुख्य कार्यालय रहेको पल्लवीमा २०८२ साउन मसान्तसम्मको तथ्यांक अनुसार ४ करोड ४ लाख ६० हजार सात सय रुपैंया शेयर पूँजी रहेको पल्लवीले देवदह १० चरंगे, देवदह ७ खैरेनी, देवदह ४ भवानीपुर र देवदह–२, ६ नं चोकबाट समेत रहेका सेवा केन्द्रमार्फत कारोवार गरिरहेको छ ।
सहकारीले ३२ करोड ६९ लाख १३ हजार ९ सय ९३ रुपैंया बचत निक्षेप संकलन गरेको छ । साउन मसान्तको वित्तिय तथ्याङ्ग हेर्दा पल्लवीले २८ करोड ६७ लाख ३४ हजार ९ सय ७७ रुपैंया सदस्यहरुमा ऋण लगानी गरेको छ । प्रदेश स्तरमा कारोवार गर्ने अनुमति भएको पल्लवी साकोसको तरलता प्रतिशत ३३.०४ प्रतिशत रहेको छ । ४१ करोड ५३ लाख ४ हजार ८ सय ५९ रुपैंया कुल सम्पत्ति रहेको पल्लवीमा २७८४ जना महिला र २११७ जना पुरुष सदस्य रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology