देवदह । देवदह–७ मा अवस्थित पल्लवी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा खैरेनी चोकमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।
देवदह ट्राफिक प्रहरीसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको सहकारीका सचिव पवन पौडेलले बताए ।
देवदह ट्राफिक प्रहरी कार्यालयका प्रमुख नन्दबहादुर शाहीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सडक सुरक्षासम्बन्धी सचेतना आवश्यक रहेको बताए । उनले कार्यक्रममा सहभागीलाई ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्राका उपाय अपनाउन आग्रह गरे ।
सहकारीकी अध्यक्ष मीना श्रेष्ठले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । स्थापना दिवसको अवसरमा समुदायसँग प्रत्यक्ष जोडिन र जनचेतना अभिवृद्धि गर्न कार्यक्रम गरिएको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology