Logo

२०८३, कार्तिक २३गते


images
images

ए लक्ष्मीदेवी, तिमीलाई श्राप लाग्ला !

ए लक्ष्मीदेवी, तिमीलाई श्राप लाग्ला !

images
  • ए लक्ष्मीदेवी, तिमीलाई श्राप लाग्ला !
    images

    ए लक्ष्मीदेवी, तिमीलाई श्राप लाग्ला,
    निर्दोषका आँसु देख्दा पनि मन नपग्लने ।
    दिनरात पसिना बगाउनेको झुपडीमा नजाने,
    ठग र भ्रष्टाचारीका महलमा मात्र रमाउने ।।

    images
    images
    images

    जसले घामसँगै उठेर खेतबारी खन्छ,
    जसले माटोसँग खेलेर सुन फलाउँछ ।
    जसले भारी बोकेर सडक र महल बनाउँछ,
    जसको पसिनाले यो संसार चलाउँछ ।।

    images
    images
    images

    उसैको आँगनमा तिम्रो पाइला किन पर्दैन ?
    उसैको भाग्यमा सुखको घाम किन चढ्दैन ?
    ए लक्ष्मी, कस्तो तिम्रो न्याय, कस्तो तिम्रो विधान ?
    इमानदारको अपमान, बेइमानको सम्मान ।।

    images
    images

    श्रम गर्नेको चुलोमा आगो बल्न धौधौ हुन्छ,
    दलाली गर्नेको दरबारमा भोजभतेर चल्छ ।
    सत्य बोल्नेको आवाज दबाइन्छ यहाँ,
    झुटको व्यापार गर्नेको जयजयकार हुन्छ जहाँ ।।

    कसैले पसिना बेचेर दुई छाक जुटाउँछ,
    कसैले अरूको श्रम लुटेर महल सजाउँछ ।
    कोही इमान बेच्दैन, भोकै रात बिताउँछ,
    कोही इमान बेचेरै करोडौँ कमाउँछ ।।

    कोही ऋणको भारीले जीवनभरि थिचिन्छ,
    कोही भ्रष्टाचारको धनले सिंहासनमा बस्छ ।
    एकपटक तिम्रो सुनको महल छोडेर आऊ,
    ती श्रमजीवीको पसिनाको मूल्य बुझ्न आऊ ।।

    किसानको खेतमा सुनका बाला फलाऊ,
    मजदुरको झुपडीमा खुसीको दीप जलाऊ ।
    इमानको बाटो हिँड्नेको हात समाऊ,
    गरिबका ओठमा मुस्कान फुलाऊ ।।

    याद राख, सामन्त ! धनले मात्रै मान्छे ठूलो हुँदैन,
    सुनको सिंहासनमा बस्दैमा कोही महान् बन्दैन ।
    अरूका आँसु पिएर कमाएको सम्पत्ति,
    कहिल्यै बन्न सक्दैन सुख र समृद्धिको शक्ति ।।

    पापको कमाइले महल त ठडिएला,
    तर एक दिन सत्यको आँधीले सबै भत्किएला ।
    ए लक्ष्मी, तिमीले पनि अब भ्रष्टको साथ छोड,
    दलाल र बेइमानका दरबारसँगको नाता तोड ।।

    श्रमको सम्मान गर, पसिनाको मूल्य देऊ,
    इमानदारको आँगनमा पनि समृद्धिको फूल देऊ ।
    नत्र, ए लक्ष्मी, इतिहासले प्रश्न गर्नेछ,
    तिम्रो न्यायमाथि युगौँसम्म बहस चल्नेछ ।।

    धनको होइन, इमानको पूजा हुने दिन आओस्,
    श्रमजीवीको झुपडीमा पनि लक्ष्मीको बास होस् ।
    लक्ष्मी, तिमी धनकी देवी हौली, न्यायकी पनि बन,
    बेइमानीको महलमा मात्र होइन,
    श्रम र इमानको झुपडीमा पनि पाहुना बन ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।